शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नगर क्षेत्रका २३५ घरमा रातो जस्तापाता टल्किए

शनिवार , जेठ ८, २०७८

कमलामाई नगरपालिका–१४ चन्दनपुरमा यो बर्ष खरको छानो हटाएर जस्तापाताले छाएको घर ।

सिन्धुली,– कमलामाई नगरपालिका–१४ चन्दनपुर निवासी बिल्टा कुँमरको घरको छानोमा यतिखेर रंगिन रातो जस्तापाता टल्किएको छ । बर्षौदेखि खर(फुस)ले छाएको घरमा बस्दै आउनु भएका कुँहरलाई कमलामाई नगरपालिकाले यो बर्ष खरको छानो हटाउन आवश्यक जस्तापाता निःशुल्क उपलब्ध गराएसँगै उहाँको घरमा रातो जस्तापाता टल्किएको हो । उहाँले भन्नुभयो, “छानोबाट खर हटाएर जस्तापाताले छाउन आर्थिक अवस्था कम्जोर भएका कारण सकि रहेको थिईन । नगरपालिकाले जस्तापाता निःशुल्क दिएर ठूलो सहयोग गर्‍यो ।” घरमा जस्तापाता लगाएसँगै आगालागि र हुरिबतासको जेखिम घटेको उहाँले सुनाउनुभयो । नगरपालिकाले जस्तापाता उपलब्ध गराएपछि बाँकी खर्च आफैले व्यहोरेर घरको छानो जस्तापाताले छाएको उहाँको भनाई छ । चन्दनपुर निवासी दयावती अधिकारी दनुवारले पनि यो बर्ष खर हटाएर घरको छानो रातो जस्तापाता लगाउनु भएको छ । वडा कार्यालयको सिफारिसमा आफुले घर छाउने जस्तापाता नगरपालिकाबाट निःशुल्क पाएको उहाँले बताउनुभयो । त्यसो त उक्त वडामा मात्रै यो बर्ष ३२ घर परिवारले घरको छानोबाट खर हटाएर जस्तापाता लगाएका छन् । कमलामाई नगरपालिकाको नगर क्षेत्रभित्रका घरबाट खरको छानो हटाउने अभियान अन्तर्गत ती घर परिवारले आफ्नो घर जस्तापाताले छाएको वडा अध्यक्ष जितबहादुर अधिकारीले जानकारी दिनुभयो । प्राविधिकले नापजाँच गरी आवश्यक जस्तापाताका लागि सिफारिस गरेपछि ती घर परिवारले निःशुल्क जस्तापाता पाएको उहाँले बताउनुभयो । त्यसो त कमलामाई नगरपालिकाले पनि चालु आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा नगर क्षेत्रका घरबाट खरको छानो हटाउने कार्यक्रम समाबेस गरेको छ । सोही बमोजिम निःशुल्क जस्तापाता बितरण गरी घरबाट खरको छानो हटाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा कार्यालयबाट छनौट भई सिफारिस भएर आएका घर परिवारलाई निःशुल्क आवश्यक जस्तापाता उपलब्ध गराईएको उहाँले बताउनुभयो । नगरपालिकाका अनुसार १४ वटै वडा कार्यालयबाट छनौट भएका २३५ घरपरिवारलाई निःशुल्क बितरण गर्न यो बर्ष भ्याट सहित ९७ लाख ४५ हजार रुपियाको जस्तापाता खरिद गरिएको छ । निःशुल्क जस्तापाता बितरण गर्न वडा नं. १, २, ३, ४, ७, ८, ९, १०, ११, १२,. १३ र १४ बाट ती घर सिफिरिस भई आएको छ । आगलागि घट्नालाई न्युनिकरण गर्न र गरिब परिवारलाई सहयोग गर्न खरको छाना हटाएर निःशुल्क जस्तापाताले छाउने व्यवस्था मिलाएको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै केही घर छुटेका छन् । ती घर परिवारलाई पनि चालु आर्थिक बर्षभित्र निःशुल्क जस्तापाता उपलब्ध गराउने योजना थियो । तर अहिलकोको महामारीले गर्दा सकेका छैनौं ।” नगरपालिकाका सूचना अधिकारी निर्मल लामाका अनुसार १४ वटै वडामा रहेका करिब १३ हजार घरघुरी मध्ये दुई सय ३५ घरधुरीले बनाएको घरको छाना खरले छाएको पाईएको छ । घरमा जस्तापाता ठोक्न लाग्ने काठ र श्रम खर्च भने सम्बन्धित घरधनी आफैले व्यहोर्नु पर्ने उहाँको भनाई छ । वडा नं. १२ का अध्यक्ष ललितबहादुर आलेले उक्त वडामा छनौट भएका ३४ घर परिवारले खरको छानो हटाउन निःशुल्क जस्तापाता पाएको बताउनुभयो ।

प्रतिक्रिया