बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सांसद द्वय हरिबोल गजुरेल र गणेश पहाडी हराएको सूचना !

बिहिवार , जेठ ६, २०७८

सिन्धुलीका संघीय सांसदद्वय हरिबोल गजुरेल र गणेश पहाडी जिल्लामा समस्या पर्दा पनि गुमनाम हुँदा नागरिकले विरोध गरिरहेका छन् । जिल्लामा दिनहुँ जसो कोरोना संक्रमित बढिरहेका छन् । हालसम्म सात सय बढिमा संक्रमण देखिसकेको छ भने दशको मृत्यु पनि भएको छ । अन्य जिल्लामा भन्दा तुलनात्मक रुपमा सिन्धुलीको तथ्यांक कम होला तर जोखिम भने उत्तिकै छ । कोरोना परिक्षण बढाउने हो भने कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने निश्चित प्राय छ । धेरै जसो कोरोना संक्रमितहरु अहिले होम आईशोलेसनमा छन् । डेढ करोड बढि खर्चमा निर्माण भएको कोभिड अस्पतालमा संक्रमितहरु छन् तर श्रोतसाधनको व्यवस्थापन हुन सकेको छैन । जसका कारण कोरोना संक्रमितले समस्या झेलिरहनुपरेको छ । स्थानिय सरकारले कोरोना रोकथाम र नियन्त्रण्कालागि प्रयासहरु गरिरहेको छ । तर, उनीहरुमा अनुभवको कमि, एकलौटी अघि बढ्ने सोच, अपारदर्शिता र जनशक्ति परिचालनमा देखिएको अपरिपक्वताका कारण सोच अनुरुप काम हुन सकेको छैन । यता, संघीय सांसदहरु भने जिल्लामा कोरोनाको जोखिम बढिरहदा र उपचारमा संक्रमितले भोगिरहेको समस्यासँग परिचित नै छैनन् । उनीहरु जिल्लावासीबाट टाढा छन् । अर्थात्, जिल्लावासीले लाचार, संवेदनहिन, स्वार्थी र राजनैतिक नैतिकता गुमाएको अभिभावक पाएको छ ।

संघीय सांसदहरुले केन्द्र सरकार र स्थानिय सरकारसँग समन्वय गरेर जिल्लामा देखिएको समस्याको सम्बोधन गर्नुपर्नेमा सर्पो दुलोमा टाउको लुकाएजसरी हराउनु लज्जास्पद हो । अहिले कोभिड अस्पतालमा जनशक्ति र श्रोतसाधनको अभाव छ । जेनेरेटर नहुँदा कोरोना संक्रमितले बेलाबेलामा अक्सिजननै पाउदैनन् । यहि समयमा नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण शाखा अनावश्यक मर्मत गर्ने भन्दै विद्युत कटौति गर्छ । यी सबै दृश्यले हाम्रो संरचनाहरुको कमजोर अवस्थालाई झल्काउँछ । जिल्लामा देखिएका यस्ता समस्याहरुलाई समाधान गर्न संघीय सांसदको भुमिका अहम हुन्छ । तर, संघीय सांसदहरु राजनैतिक खिचातानिमै व्यस्त छन् ।

केन्द्रमा समेत राम्रो पकड भएको र शक्ति केन्द्रसँग राम्रो पहुँच भएकोले जिल्लावासीले हरिबोल गजुरेललाई निर्वाचित गराएका थिए । शक्तिशालि व्यक्तिलाई ठाउँ दिनुपर्छ, जिल्लाका लागि उनले राज्यको श्रोतसाधनको सदुपयोग गर्न सक्छन् र समग्र सिन्धुलीवासीको समस्यालाई समाधान गर्ने प्रयत्न गर्छन् भन्ने मतदाताको विश्वासलाई सांसद गजुरेलले लोप्पा ख्वाइदिएका छन् । संक्रमणले जिल्लावासीको मृत्यु भइरहदा कुन जनप्रतिनिधि लुकेर बस्छ ? कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने व्यक्ति गुमनाम भएर बस्न कुन मानवताले दिन्छ ? यी सबै समस्याका पोकाहरुलाई जिल्लावासीले साँचेर राखेका छन् । ती समस्याका पोका पक्कै पनि कुनैदिन खुल्नेछ र यी सबै विषयमा संघीय सांसदद्वय हरिबोल गजुरेल र गणेश पहाडीले राजनैतिक स्वार्थै सहि हेक्का राख्न जरुरी छ ।

प्रतिक्रिया