सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बजारमा यतिखेर पक्कि संरचना बढ्दै गएपनि सिंगो भिमान बजार लालपुर्जा विहीन अवस्थामा छ ।
स्थानीय बासिन्दाका अनुसार भिमान बजारका तीनसय भन्दा बढी घरधुरी लालपुर्जा विहीन रहेका छन् । भिमान बजारमा अहिले धमाधम पक्की घर समेत बनेका छन्, तर त्यसको धनीका हातमा लालपुर्जा छैन् । घर गृहस्थी गरेर बस्नेको लागि भने ठुलो समस्या छैन् । तर व्यापार व्यवसाय गर्नेका लागि भने लालपुर्जा विहीन बन्दा ठुलो समस्या भएको छ । बैंक अथवा अन्य निकायमा लालपुर्जा राखेर ऋण लिइ उद्यम तथा व्यापार गर्नका लागि लाखौं मुल्यको जग्गा कौडीको भाउमा समेत नजाने बनेको छ ।
२०२८ सालको नापी होस या २०३६ सालको । दुवै समयमा भिमान बजार परेन । पहिला–पहिला तिरोको डरले समेत जग्गा ननपाउने कारणले भिमान बजार प्रताडित बनेको स्थानीयको भनाइ छ ।
स्थानीय बासिन्दा एवं जनजागृती क्याम्पसका पूर्व प्रमुख शालीग्रामप्रसाद पौडेलका अनुसार तिरोको भयले पहिला गाँउ व्लक भनेर नापी आउदा समेत ननपाउने चलन थियो । भिमान बजार लालपुर्जा विहीन बन्नुमा लामो इतिहास छ । २०२२ सालतीर भिमान बजारमा दुइ चारवटा घर मात्र थिए, खेतहरु बजार भन्दा तलतीर रहेको थियो । “पहिलो नापी आउदा खेतहरु परे, तर भिमान बजार नपाउन कसैले चासो राखेन,” प्रमुख पौडेलले भन्नुभयो, “तिरो तिर्ने डरले कसैले नपाएनन् ।”
तत्कालिन समयमा वन सिमाना लगाएकोले नापी नभएको स्थानीय बासिन्दा बताउछन् । “वन सिमाना सरकारले लगाएको थियो”, स्थानीय बासिन्दा टंकप्रसाद पोखरेलले भन्नुभयो, “बजार भन्दा तलतिरको जग्गालाइ सिमाना बनाएर डिभर्केशन (पोल गाडिएको) गरिएको थियो । वनले खाली गराएको जग्गा तत्कालिन समयमा गाँउ पञ्चायतको हुने भन्ने थियो ।”
सोही अनुसार गाँउ पञ्चायतले तत्कालिन समयमा विद्यालय सञ्चालनका लागि केही रकम लिएर जग्गा बितरण गरेको थियो । पूर्व क्याम्पस प्रमुख पौडेलले अगाडी थप्नुभयो, “बस्ती बस्न दिएर उठेको रकमबाट भवन बनाइ बाणिज्य बैंकलाइ भाडामा दियौं । त्यसबाट आएको रकम विद्यालय सञ्चालनमा खर्च गरिन्थ्यो । त्यस बेला जग्गा दिए बापत करिब ३० हजार रकम संकलन भएको थियो ।” उहाँका अनुसार विद्यालयले फिटको हिसाबमा पैसा लिएर स्थानीयलाइ जग्गा बितरण गरेको थियो ।
भिमान बजारमा अहिले सडक छेउको जग्गा प्रति धुर कम्तीमा तीन लाख रुपैयाँमा बिक्री हुने गरेको छ । “नगरपालिकामा गएर विक्री बितरण हुन्छ, लालपुर्जा भने छैन्,” अर्का स्थानीय एवं समाजसेवी हरिशचन्द्र पौडेलल भन्नुभयो, “सरकारले तत्काल लालपुर्जा बितरण गर्नुप¥यो ।” ऐलानी रहेको जग्गा अहिले सबै नगरपालिकामा दर्ता रहेका छन् ।
“लाखौंमा जग्गा कारोबार हुन्छ, तर धितो चल्दैन,” स्थानीयले पिडा पोखे । भिमान बजारमा अहिले राष्ट्रिय बाणिज्य बैंक र मेघा बैंकका शाखा छन् । तर भिमान बजारका बासिन्दाले जग्गा तथा घर धितो राखेर ऋण लिन पाएका छैनन् ।
“भिमान बजारमा एक व्यक्तिको बढिमा दुइ कठ्ठा जग्गा रहेको छ । जग्गाको विक्री हुन्छ, तर धितो राखेर कारोबार गर्न पाइएन्”, अर्का स्थानीय बसन्त भुजेलले आफ्नो पीडा दर्शाउनुभयो । उहाँले तत्काल सरकारले भिमान बजारका वर्षौदेखि बस्दै आएका स्थानीयलाइ लालपुर्जा दिनुपर्ने बताउनुभयो । तत्कालिन समयमा सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा बितरणका लागि पहल कदमी चालेपनि बिचमै तुहिएको स्थानीयको भनाइ छ ।