कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागि सिन्धुलीका अधिकांश स्थानिय तहमा अहिले निषेधाज्ञा र बन्दाबन्दी गरिएको छ । निषेधाज्ञाकै बिच लागुऔषध प्रयोगकर्ताले लागुऔषध खरिद गरिरहेका छन् । जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । विगतमा महोत्तरीको बर्दिबास हुँदै भारतिय सिमाक्षेत्रमा लागुऔषध प्रयोगकर्ता पुग्ने गर्दथे । भारतमा सहजै औषधि उपलब्ध हुने र ससतो पर्ने हुँदा युवाहरु भारत जाने गर्दथे । अहिले भारत जाने अवस्था छैन । तर, केहि लागुऔषधकर्ता भने विभिन्न माध्यमबाट भारत छिर्ने गरेका छन् । त्यसैगरि, कमलामाई नगरपालिका क्षेत्रका औषधि पसलहरुमा बिना पुर्जा खरिदकर्तालाई औषधि बिक्रि गर्दा लागुऔषध प्रयोगकर्ताले सहजै घरमै औषधि प्रयोग गर्न पाईरहेको अवस्था छ ।
कमलामाई नगरपालिकामा रहेका औषधि पसलहरुले बिना कुनै सोधखोज र पुर्जा बिनानै औषधि बिक्रि गर्दै आएका छन् । लागुऔषध प्रयोगकर्तालाई पनि के खोज्छ कानो आँखो भनेझैँ भएको छ । तसर्थ, जिललामा रहेका औषधि पसलहरुको अनुगमन गर्नतर्फ जिल्ला प्रहरी कार्यालयको ध्यान जान जरुरी छ । जिल्लामा रहेका औषधि पसलहरुमा सम्बन्धित निकायले छड्के चेक गर्न आवश्यक छ । त्यसैगरि, आफ्नो सन्तानको चालचलन र व्यवहारलाई पनि परिवारले बुझ्न आवश्यक छ । अतः सिन्धुलीमा लागुऔषध प्रयोगकर्ताको मनोबल गिराउन सरोकारवाला निकायले विशेष पहल गर्न जरुरी छ ।