सिन्धुलीमा दोश्रो भेरियन्टको कोरोना देखिएपछि संक्रमितको सख्ंया तीन सय बढि नाघिसकेको छ । अधिकांश संक्रमित अहिले होम आईशोलेसनमा छन् । घरमा बस्नु भएका कोभिड संक्रमितहरुलाई के खाने, के नखाने, कसरी सुरक्षित तरिकाले बस्ने लगायत अन्य न्युनतम जानकारी पनि छैन । होम आईशोलेसनमा बसेकहरुसँग अक्सिजन नाप्नकालागि उपकरण पनि नभएको अवस्था छ । अनलाईबाटै परामर्श लिन सक्ने व्यवस्था भएपनि संक्रमितहरु त्यसबारेमा जानकार छैनन् । घरमै बसेका संक्रमितहरुले अन्य परिवारका सदस्यलाई समेत भाइरस सार्न सक्ने जोखिम बढेको छ । उचित जानकारी नहुँदा अवस्था जटिल हुने देखिन्छ । केन्द्रिय सरकारको निकायले कोरोना संक्रमितसँग फोनकै माध्यमबाट भएपनि नजिक रहन स्थानिय तहलाई विभिन्न सुविधाहरु दिएको छ । तर, केहि जनप्रतिनिधिहरु भने राज्यको सुविधाका बारेमा समेत जानकार छैनन् । तसर्थ, राज्यका विभिन्न निकायबाट कोरोना रोकथाम र नियन्त्रणकालागि चालिएको कदमका बारेमा जनप्रतिनिधि परिचित हुन आवश्यक छ । त्यसकालागि जनप्रतिनिधिले थप अग्रसरता देखाउन जरुरी छ ।
आइतबार सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुख होम आइशोलेसनमा रहेका कोरोना संक्रमितलाई भेट्न घरघरनै पुग्नुभयो । जनप्रतिनिधि घरघरमै पुग्दा संक्रमितलाई कोरोनासँग लड्ने हौसला मिलेको छ । आफूलाई केहि भएमा राज्य छ भन्ने मानसिकता उनीहरुमा पसेको छ । त्यसैले, जिल्लाका अन्य स्थानिय तहका जनप्रतिनिधिले पनि संक्रमितसँग अप्रत्यक्ष रुपमा नजिकिन जरुरी छ । यो समय भनेको क्षणिक प्रचारप्रसारको समय हो । जनप्रतिनिधि भनेको जनताकै सेवक हुन् । उनीहरु जसरी भएपनि जनताको सेवामा समर्पित हुनुपर्छ । केहि जनप्रतिनिधिले आफू चढ्ने गाढी समेत एम्बुलेन्सका रुपमा प्रयोग गराउन थालिसकेका छन् । उनीहरुले जनताप्रति देखाएको मायालाई जनताले कदापि बिर्सने छैनन् । तसर्थ, जनप्रतिनिधिले संक्रमितको हौसला बढाउन तर्फ विशेष ध्यान दिन आवश्यक छ । अतः संक्रमितको पिडालाई बुझेर हौसला बढाउनतर्फ सम्बन्धित सबै पक्षले अग्रसरता देखाउन जरुरी छ ।