सिन्धुली – यहाँको तीनपाटन गाउँपालिकाले सुविधासम्पन्न आफ्नै भवन बनाउन थालेको छ । लामो समयदेखि भाडाको घरमा बस्दै आएको गाउँपालिकाले आफ्नै भवन बनाउन थालेको हो । तीनपाटन गाउँपालिका ११ को सार्वजानिक जग्गामा गाउँपालिकाको भवन बनाउन थालिएको गाउँपालिकाले जनाएको छ ।
पाँच करोड ५६ लाख रुपैयामाँ गाउँपालिका भवन बनाउने ठेक्का लागेको र अबको केही महिनामै भवन निर्माण सकिने गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनु भयो । गत वर्षदेखि नै निर्माण सुरु भएको र कोरोनाका कारण भवन निर्माणमा अवरोध नभए यहि साउनभरीमा भवन निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
भवन निर्माण पश्चात एकिकृत सेवा हुने र सेवाग्राहीलाई समेत सहज हुने उहाँले बताउनु भयो । “घर भाडामा लिएर गाउँपालिका चलाउँदा धेरै भवनमा कार्यालय राख्नुपर्ने अवस्था छ । त्यो समस्याको अब छिट्टै समाधान हुन्छ”, गाउँपालिका अध्यक्ष थापा मगरले भन्नु भयो ।
गाउँपालिकाको झन्डै दुई विगाहा जग्गामा गाउँपालिका भवनसहित अन्य एकिकृत भवन निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । कर्मचारी आवास स्टोर भवन अझै थप हुनेछ, गाउँपालिका अध्यक्ष थापामगरले भन्नु भयो, “झन्डै आठ करोडमा अन्य भवन बनाउन समेत ठेक्का लागिसकेको छ ।”
पछिल्लो समय स्थानिय तहको आफ्नै कार्यालय भवन निर्माण हुने क्रम धमाधम छ । यहाँको मरिण गाउँपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरिसकेको छ । यस्तै सुनकोशी गाउँपालिकाले धमाधम भबन बनाइरहेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।