सिन्धुली – पालिकाभित्र कोरोना संक्रमण दर तीब्र रुपमा बढ्दै गएपछि तीनपाटन गाउँपालिकाले पनि शनिबारदेखि एक साता लामो बन्दा बन्दिको घोषणा गरेको छ ।
गाउँपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकले स्वास्थ्य सम्बन्धि सेवा र अत्यावश्यक बाहेक कार्यालयको नियमित कार्य बैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै सभा, सम्मेलन, सेमिनार, तालिम, गोष्ठि लगायतकाा कार्यक्रमहरु तथा सर्बाजनिक यातायात पनि बैशाख ३१ गतेसम्म बन्द गर्ने उक्त बैठकले निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्य सम्बन्धि अत्यावश्यक पसल बाहेक सम्पूर्ण पसलहरु सो अवधिसम्म बेलुका ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्र खुल्ला गर्ने र अन्य समय पूर्ण बन्द गर्ने निर्णय भएको छ ।
बैठकले पालिकाबासिलाई स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ पालना गर्न अनुरोध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार एकै दिन गाउँपालिकाको केन्द्र वरिपरि १२ जना संक्रमित भेटिएपछि बैशाख मसान्तसम्म सिल गरेका हौं ।”
तीनपाटन गाउँपालिकामा शनिबारसम्म कोरोना संक्रमितको संख्या १७ जना पुगेको स्वास्थ्य कार्यालय सिन्धु्लीले जनाएको छ । दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका र घ्याङलेख गाउँपालिकाले बन्दाबन्दिको घोषणा गरेका छन् ।
यसै गरी सिन्धुलीको फिक्कल गाउँपालिकामा एक साताको लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । नयाँ भेरिएन्ट सहितको कोभिड १९ संक्रमण फैलिन नदिन बैशाख २३ गते बसेको गाउँ कार्यापालिकाको बैठकले गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण वडाहरूबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरिएको हो ।
पालिकामा शनिबार राती १२ बजे देखि बैशाख ३१ गते राती १२ बजे सम्म लागु हुने गरी गाउँपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरीएको पालिकाले जनाएको छ ।
यस अवधिमा खाद्यान्न, तरकारी तथा फलफुल, दुधडेरी, होटल तथा अन्य पसलहरू हरेक दिन बिहान ६ बजेदेखि १० सम्म खोल्न पाईने छ । पालिकाले सभा, सम्मेलन, भिडभाड हुने सबैखाले धार्मिक कार्यक्रम पूर्ण रुपमा बन्देज गरेको छ ।
पालिका भित्र रहेको बैङ्क तथा वित्तीय संस्थालाई हप्ताको तीन दिन आईतबार देखि मंगलबार सम्म खुल्न दिने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ । घरबाट बाहिर निस्कनु परे अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।