सिन्धुली – तीनपाटन गाउँपालिकाले विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सक्रियता बढाएको छ ।
उक्त गाउँपालिकाको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै सक्रियता बढाएको हो । कोभिड–१९ नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्घारी र लाम्पन्टारमा पाँच बेडको आईसोलेसन वार्ड व्यवस्थापन गर्न अक्सिजन ग्यास, मास्क, सेनिटाईजर, पिपिई, ग्लोभ्स लगायत स्वास्थ्य सामग्री तथा औषधिको व्यवस्था गर्ने उक्त बैठकले निर्णय गरेको छ ।
त्यसैगरी नयाँ भेरियन्टको कोराना भाईरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला तथा केन्द्रबाट भए गरेको निर्णयहरु पालना गर्न आवश्यक कार्यहरु अघि बढाउने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बजारमा हुने भिडभाड नियन्त्रण गर्न पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन गर्ने, अत्यावश्यक सेवाका पसलहरु नियमिति रुपमा सञ्चालन गर्ने, सरकारी कार्यालयहरु आवश्यक स्वास्थ्य मापदण्ड तथा भौतिक दुरी कायम गरी सिमित कर्मचारीको उपस्थितीमा सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुलाई क्रिया विदा र प्रशुती विदा बाहेक अन्य विदामा नछाड्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बाहिरबाट भित्रिने नागरिकलाई होम आईसोलेसनमा बस्न अनुरोध गर्ने, तालिम, गोष्ठि, सेमिनारहरु आवश्यक स्वास्थ्य मापदण्ड अप्नाएर मात्र सञ्चालन गर्ने, नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा चौक, चौतारा, मन्दिर र अन्य सार्बजनिक स्थलमा भिडभाड नगर्न सूचना प्रवाह गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
उक्त गाउँपालिकाको विभिन्न वडामा दोस्रो लहरको कोरोना भाईरस संक्रमित व्यक्ति हाल पाँच जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीनपाटन गाउँपालिकाले पनि वडा नं. २ को साखामाडी पुलदेखि भिमस्थान गैरि बजारसम्म दायाँ र बाँया पाँच सय मिटरको क्षेत्रलाई यस अघि नै एक एक साताका लागि सिल गरेको छ । उक्त वडाको केही क्षेत्रमा कोभिड १९ को नयाँ भेरिएण्टको संक्रमण फैलिएर संक्रमितको निधन समेत भएकोले सो को नियन्त्रण तथा रोकथामको लागि काम नपरि घर बाहिर ननिस्कन समेत अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।
यस अघि उक्त पालिकाले वडा नं. ५ को लंगुरखोलामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै लङगुरखोला क्षेत्रको अँधेरी मूलबाटोबाट सिसाबोटेसम्मको क्षेत्रभित्र सात दिनसम्म मानिसको आवतजावत बन्द गरेर सिल गरि सकेको छ ।