सिन्धुली – निषेधाज्ञाको उल्लंघन गर्ने ७१ वटा सवारीलाई कारबाहीका क्रममा एक घण्टा होल्ड गरी छाडिएको छ ।
बिहीबार कमलामाई नगरपालिकाको विभिन्न स्थानमा कारबाहीको क्रममा उक्त सवारी होल्ड गरी छाडिएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका ट्राफिक प्रमुख कृष्ण क्षत्रीले बताउनु भयो ।उहाँका अनुसार बिहान देखि कमलामाई नगरपालिका भित्रको मुख्य चोक, बजारमा निषेधाज्ञाको उल्लंघन गर्ने सवारी साधनलाई सडकमै एक घण्टा होल्ड गरी सम्झाएर छोडेको हो ।
नगरपालिका भित्रको ढुंग्रेबास चोकमा १९ वटा, शान्तिनगर चोकमा १५ वटा, लोकतान्त्रिक चोकमा २० वटा, र २ नम्बर गेटमा १७ सवारी साधन होल्ड गरिएको प्रमुख क्षेत्रीले जानकारी दिनु भयो ।
नगरमा वित्तीय संघसंस्था बन्द नहुँदा निषेधाज्ञाको पालन गराउनु कठिन भएको उहाँको भनाई छ । वित्तीय संघसंस्था तथा बैंकको कामको लागि धेरै नागरिक आवतजावत गरिरहेको उहाँले बताउनु भयो ।
कमलामाई नगरपालिका वैशाख १२ गते राती १२ बजेबाट वैशाख २९ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । हाल निषेधाज्ञामा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।