सिन्धुली, – जिल्ला सदरमुकाम सिन्धुलीमाढीलाई बाताबरण मैत्री सहरको रुपमा विकास गर्न कमलामाई नगरपालिकाले तीन बर्षअघि प्लाष्टिकका झोला प्रयोगमा लगाएको प्रतिबन्ध प्रभावकारी बन्न सकेको छैन ।
प्लाष्टिकको झोलाको प्रयोगले प्रदुषण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न उद्योग बाणिज्य सङघको समन्वयमा २०७४ साल असोज १ गतेदेखि नगरक्षेत्रमा उक्त झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको कमलामाई नगरपालिकाले जनाएको छ ।
कार्यालयका अनुसार नगरपालिकाको प्रथम नगरसभामाबाट नगर क्षेत्रलाई प्लाष्टिक मुक्त सहरको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पास भएको छ । सदरमुकाम क्षेत्रमै व्यापारीले खुल्ला रुपमा प्लाष्टिकको झोला बिक्रि तथा प्रयोग गरी सामान बिक्री गरि रहेका स्थानीय बासिन्दाले बताएका छन् ।
सदरमुकामको मुख्य बजार क्षेत्र रहेको कमलामाई नगरपालिका वडा नं. ६ का सदस्य लोकबिक्रम थापा पनि प्लाष्टिकको झोला प्रयोगमा नगरपालिकाले लगाएको प्रतिबन्ध खासै प्रभावकारी नदेखिएको बताउनुहुन्छ ।
“प्राय सबै उपभोक्ताले प्लाष्टिककै झोलामा सामान झुण्याएर हिडेको देखिन्छ,” उहाँले भन्नुभयो, “नगरपालिकाले कडा रुपमा कार्यान्वयन गर्न सकिरहेको छैन । व्यापारीले पनि बिकल्प नभएको भन्दै प्लाष्टिकका झोला बेचिरहेको पाईन्छ ।” प्लाष्टिकको झोलाको बिकल्पमा फाईबरको झोला प्रयोग गर्ने भनिएपनि मँहगो पर्ने र पटकै पिच्छे किन्नु पर्ने भएकाले उपभोक्ता पनि फाईबरको झोलाप्रति आकर्षित नदेखिएको उहाँको भनाई छ ।
“प्लाष्टिकको झोला व्यापारीले सामान् किन्दा जतिपनि सित्तै दिन्छन्, फाईवरको झोला पटकै पिच्छे १० रुपैयाँ हालेर किन्नु पर्छ,” वडा सदस्य थापाले थप्नुभयो, “यो पनि एउटा समस्याको रुपमा आएको छ ।” यता, उपभोक्ता भने प्लाष्टिकको झोला प्रयोग प्रतिबन्ध लगाउने कार्यलाई अव्यवहारिक बताउछन् ।
प्लाष्टिकको झोला प्रतिबन्धसँगै उपभोक्तामाथि थप आर्थिक भार थपिएकोले कार्यान्वयन चुनौतीपूर्ण बनेको सदरमुकामस्थित मल्लागाँउ निसावी उपभोक्ता निलहरी दाहालको भनाई छ । उहाँले भन्नुभयो, “सामान किन्दा व्यापारिले उपभोक्ताई प्लाष्टिकको झोला सित्तै दिन्छ । पटकै पिच्चे कस्ले फाईबर झोला किन्छ र ? उपभोक्तालाई फाईबरको झोलामा बानी पार्न नै निकै सकस पर्छ ।”
प्लाष्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउनु भन्दा सरकारले उत्पादन गर्ने कम्पनी नै बन्द गरि दिए त यत्रो नाटक देखाउनै नपर्ने उहाँको तर्क छ । बाताबारण मैत्रीका लागि प्लाष्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउनु राम्रो अभियान भएपनि पूर्ण कार्यान्वयनमा समस्या आउने उहाँले सुनाउनुभयो ।
यता कमलामाई नगरपालिकाले भने प्लाष्टिकको झोलाको प्रयोगमा लगाएको प्रतिबन्ध कसैलाई मर्का नपर्ने गरि बिस्तारै कार्यान्वयन गरिदै लगेको जनाएको छ । नगरपालिकाका बाताबरण शाखाका प्रमुख प्रकास कार्की कालो, निलो र रातो रंगको प्लाष्टिकको झोला प्रयोगमा रोक लगाएको बताउनुहुन्छ । ४० गेजभन्दा माथिको सेतो प्लाष्टिकको झोला प्रयोगमा ल्याउने व्यापारीहरुसँग सहमती गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “कालो, निलो र रातो रंगको प्लाष्टिकको झोलाले बाताबरण बढी प्रदुषण गर्ने हुनाले फोकस त्यसलाई गरिएको हो । सेतो प्लाष्टिकको झोला पनि ४० गेजभन्दा कमको प्रयोग गर्न पाईदैन ।” बताबरण शाखाका प्रमुख कार्कीका अनुसार नगरपालिकाले अहिलेसम्म करिब ४० लाख रुपैया बराबरको फाईबरको झोला खरिद गरि व्यापारीलाई बितरण गरि सकेको छ । नगरपालिकाले सुरुमा सबै व्यापारीसँग भएको प्लाष्टिकका झोला खोसेर फाईबरको झोला बितरण गरेको हो ।
प्रातिबन्धित प्लाष्टिकको झोला बिक्री गर्ने व्यापारीलाई नगरपालिकामा बोलाई अबदेखि उक्त झोला बिक्रि नगर्ने कागज गराएर छाडिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिबन्धित प्लाष्टिकका झोला बाहिरबाट आउने व्यापारीले ल्याउने गरेका र नगरपालिकाले खोसेर जलाउदै आएको छ । बेला–बेलामा व्यापारीको गोदाममा छापा मारेर प्लाष्टिकका झोला जफत गरी जलाउने गरिएको छ । प्लाष्टिकको झोला प्रयोग निषेध गर्ने यो राष्ट्रिय कार्यक्रम नै रहेको नगरपालिकाले जनाएको छ ।
अन्य जिल्लामा २०७२ सालदेखि नै प्लाष्टिकको झोला प्रयोग निषेध सुरु भएको थियो । कुनै व्यापारी र उपभोक्ताले जबर्जस्ती प्लाष्टिकको झोला प्रयोग गरेको भेटिएमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०७० मा भएको व्यवस्था अनुसार जरिवानासहित कारबाही गरिने नगरपालिकाले जनाएको छ ।