शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गुणस्तरहिन पर्खाल मेयरले भत्काए

बुधवार , बैशाख २२, २०७८

सिन्धुली – जिल्ला कारागार सिन्धुलीको निमार्ण भइरहेको भवनको मंगलबार अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निमार्ण भइरहेको भवन अनुगमन गर्नु भएको हो । निर्माण भई रहेको कारागार कार्यालयको कम्पाउण्ड गाह्रो गुणस्तरहिन रहेको अनुगमनको क्रममा मेयर खत्रीले बताउनु भयो । उक्त गाह्रो गुणस्तरहिन भएको भन्दै मेयर खत्रीले लात्तिले हिर्काएर भत्काउनु भएको थियो ।

डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरेको वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी कम सिमेन्ट हालेर पर्खाल निर्माण गरेको स्थानीयको गुनासोपछि अनुगमनका क्रममा पर्खाल भत्काइ दिएका हुन् ।

मेयर खत्रीले करोडौं मुल्यको निर्माणमा गुणस्तरमा ध्यान दिन पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरेको बताउनु भयो । “कारागार भवन निर्माण गर्दा समेत गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ । हामीले प्रमुख जिल्ला अधिकारीमार्फत गुणस्तर चेक गर्न भनेका छौं । गुणस्तरहिन काम भत्काएर पुनः निर्माण नगरेसम्म काम रोक्न भनेका छौं,” खत्रीले भन्नु भयो ।

भवन निर्माण गर्दा स्टमेट अनुसार समेत नभएको पाइएको छ । निर्माण सामग्री तथा पुराना तारहरु सडकमै जथाभावी छाडिदिँदा स्थानीय दुर्घटनामा पर्ने गरेको समेत गुनासो आएपछि अनुगमन गरिएको र अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरवाही गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनु भयो ।

“अनुगमनमा देखिएको गुणस्तरहीन कामलाई तत्काल रोकेर ठेकदारलाई प्रशासन कार्यालयमा उपस्थित हुन भनेका छौं । काममा सुधार नगरे भुक्तानी रोकेर कारवाही गछौं,” उहाँले भन्नु भयो ।

उता कारागारको शौचालयको ढल ग्वाङ खोलामा मिसाउँदा पुरै बस्ती दुर्गन्धित भएको भन्दै स्थानीयले चर्को विरोध समेत गरेका छन् । कारागारबाट ढल खोलामा मिसाउँदा खानेपानी खान, नुहाउन र गाई वस्तुलाई पानी खुवाउन समेत समस्या भएको स्थानीय गणेश श्रेष्ठले बताउनु भयो ।

सो विषयमा समेत तत्काल समस्याको समाधान गर्न र शौचालयलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ । कारागार प्रमुख मात्रीका पौडेलल कारागार भवन निर्माण कम्पनीलाई स्टिमेट अनुसारका निर्माण सामग्री प्रयोग गरेर काम गर्न पटकपटक भनिएको भएपनि आफूबाट कुनै लापरवाही नभएको बताउनु भयो ।

“मेरो तर्फबाट कुनै कमजोरी भएको छैन । मैले आज नै काम बन्द गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष स्पष्टीकरण दिन भनि पत्रचार गर्ने छु । अन्य विषय नियमानुसार हुने छन्,” उहाँले भन्नु भयो ।

कारागारको ढलका विषयमा भने कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएका कारण दैनिक सेफ्टी ट्यांकी सफा गर्नुपर्ने भएपछि यस्तो समस्या आएको उहाँकोे भनाई छ । उता निर्माण कम्पनीका प्राविधिक श्याम पहरीले निर्माणमा केही कमजोरी भएको स्वीकार गर्दै निर्माणाधीन पर्खाल भत्काएर पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

“हामीले मिस्त्रीलाई गुणस्तरीय काम गर्न धनेका थियौं । तर हामीहरु नभएका बेला मिस्त्रीले लापरवाही गरेर पर्खाल लगायतका निर्माणमा लापरवाही गरेको पाइयो हामी त्यस्ता सबै काम पुनःनिर्माण गर्नेछौं,” पहरीले भन्नु भयो ।

जिल्ला कारागार ८० जना कैदी बन्दीको क्षमता भएको भएपनि हाल ५ सय ८ जना कैदीबन्दी राखिएको छ । २०७६ पुसबाट निर्माण थालिएको कारागार भवन २०७८ असार मसान्तभित्र सक्ने गरी ठेक्का संझौता भएको थियो ।

प्रतिक्रिया