शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पर्यटक बढाउन भ्युटावर बनाउदै स्थानिय सरकार

मंगलवार , बैशाख २१, २०७८

सिन्धुलीको गोलान्जोर डाँडामा निर्माण भएको भ्युटावर ।

सिन्धुली– सिन्धुलीका दुई गाउँपालिकाले पर्यटनको प्रबद्र्धन गरी आम्दानीको मुख्य स्रोत बनाउन भ्युटावर निर्माणमा जुटेका छन् । जिल्लाको फिक्कल गाउँपालिकाको पिलक्कल डाँडामा निर्माणाधिन भ्युटावर अहिले अन्तिमचरणमा रहेको छ । गोलान्जोर गाउँपालिकामा गोलन्जोर डाँडामा भने भ्युटावर निर्माण सम्पन्न भई सकेको छ । त्यस्तै कमलामाई नगरपालिका–४ स्थित च्याउकोट डाँडामा भ्युटावर अहिले धमाधम बन्दै गरेको स्थानीयले जनाएका छन् । फिक्कल गाउँपालिकाको वडा नंंं. ३ फिक्कलमा निर्माणाधिन भ्युटावरमा अहिलेसम्म करिब एक करोड छ लाख रुपैया लगानी भइसकेको गाउँपालिका उपाध्यक्ष पार्बती सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार सात तला ६४ फिट अग्लो उक्त भ्युटावरको ढलानको सबै काम सकिएर अहिले धमाधम रंगरोगन गर्ने कार्य भई रहेको छ । उक्त टावरमा दृश्याबलोकनका लागि दुरबिन(लेन्स) राख्ने कार्य भने बाकी रहेको छ । फिक्कलबाट सगरमाथा, नेपालका २६ वटा जिल्ला लगायत भारतको विहार र चीनको स्वशासित क्षेत्र तिब्बतको केही पहाड समेत अवलोकन गर्न सकिने हुदा यसको विकासका लागि गाउँपालिका लागि परेको हो । उहाँले भन्नुभो, “स्थानीय तहमा जनप्रतिनिधि आउनुअघि भ्युटावरको एक तला मात्र तत्कालिन समयमा जिविसको करिब १० लाख रुपैया सहयोगमा ढलान भएको अवस्था थियो । बाँकी काम हामी आएपछि गरेर पुरा गरेका छौं ।” भ्युटावर निर्माणसँगै पर्यटकिय क्षेत्रको विकास गर्ने योजना त छदैछ, साथसाथै गाउँपालिकाको आम्दानीको स्रोत पनि बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । फिक्कल भ्युटावर निर्माण समितिका अध्यक्ष प्रेमबहादुर थापामगरका अनुसार २०६८ सालबाटै यो टावर निर्माण सुरु गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ३५ लाख बजेट सहित हालसम्म एक करोड छ लाख रुपैया खर्च भइसकेको छ । ७० लाख रुपैया गाउँपालिकाको बजेट, ३५ लाख रुपैया मन्त्रालय, तत्कालिन खोलागाउँ गाविसबाट ६० हजार र सांसद विकास कोषबाट ४० हजार रुपैया बजेट उक्त भ्युटावर निर्माणका लागि खर्च भएको छ । समुन्द्र सतहदेखि दुई हजार ८८७ मिटर उचाईमा रहेको पर्यटकिय स्थल फिक्कलमा यातायात सुविधा पुगि सकेको छ । सिन्धुलीको फिक्कललाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि वढाउन क्रियाशिल भएर लागि पर्नु भएका फिक्कल विकास समितिका अध्यक्ष समेत रहनु भएका भ्युटावर निर्माण समितिका अध्यक्ष मगरले भन्नुभयो, “भ्युटावर र सडक निर्माणले त्यस क्षेत्रको पर्यटन विकासको ढोका खुलेको छ ।” गोलन्जोर गाउँपालिका वडा नं. ४, ५ र ६ को सिमानामा रहेको गोलन्जोर डाँडामा भ्युटावर निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । गोलन्जोर डाडाँमा भ्युटावर निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले उक्त भ्युटावर निर्माण गरेको स्थानीय बासिन्दाले जनाएका छन् । उनीहरुका अनुसार अहिले भ्युटावरमा चढेर दृश्यावलोकन गर्ने उद्देश्यले दैनिक एक सय जनासम्म आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेका छन् । गोलन्जोर डाँडामा भ्युटावर निर्माण र त्यहा जाने बाटोमा रेलिङ हालेसँगै मानिसको चहलपहल बढ्दै गएको स्थानीय शिक्षक लेखबहादुर बस्नेतले सुनाउनुभयो । उहाँले भन्नुभयो, “गोलन्जोर डाँडाबाट आकास खुलेको समयमा तराईका फाँट, हिमाल छर्लङग देखिने भएकोले मानिसको चहल पहल बढेको हो । पिकनिक खान आउनेको संख्या पनि बढ्दै गएको ।” झन् गुराँस फुल्ने मौसममा त गोलन्जोर डाँडा बेहुली झै सिंघारिएको जस्ते देखिने उहाँको अनुभव छ । गोलन्जोर डाँडामा काफल र ऐसेलु जस्ता फल प्रशस्त पाउनुका साथै विभिन्न जडिबुटीको खानी नै रहेको छ । गोलन्जोर डाँडामा नौ वटा पोखरी पनि रहेका छन् । उक्त पोखरी धेरै पहिले बनाएको र कस्ले बनाएको भनेर खोज्दै जाँदा एक जना बाहुनी लुईटेल्नी बज्यैले भन्नेसम्म पत्ता लागेको स्थानीय शिक्षक बस्नेतले सुनाउनुभयो । ‘अहिलेसम्म चार तला बनेको छ, तला थप्दै जाने योजना छ’ उहाँले भन्नुभयो, “गोलान्जोर डाँडामा ठूलो टार छ । त्यहाँबाट तराई र हिमालको ठूलो भूभाग देख्न सकिन्छ ।” उहाँका अनुसार उक्त डाँडामा महाकालीको मन्दिर र त्यो भन्दा अलितल गोलन्जोर ठाकुरको पनि मन्दिर रहेको छ । महाकाली मन्दिरमा पहिले पहिले क्रोजागत पूर्णिमाको रात मेला (जात्रा) लाग्दथ्यो । तर मन्दिर भत्किएर जीर्ण बनेसँगै अहिले मेला भने लाग्न छाडेको छ । जिल्लाकै दोस्रो अग्लो डाँडाको रुपमा रहेको गोलन्जोरलाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानीको मुख्य स्रोत बनाउन लागेको हो । अहिले गोलन्जोर डाँडामा गाउँपालिकाको लगानीमा चार तलाको भ्युटावर निर्माण सम्पन्न हुनुका साथै भ्युटावरसम्म पुग्न स्टीलको रेलिङ हालेर सिंढी निर्माण गरिएको छ । स्थानीयका अनुसार गोलाञ्जोर डाँडामा ८६ लाख रुपैयाको लागतमा भ्युटावर निर्माण गरिएको छ । निर्माण कार्यमा खटिनु भएका प्राविधिक (ओभरसियर) निराजन बस्नेतका अनुसार भ्युटावर निर्माणका लागि गत आर्थिक बर्ष ०७५/०७६ मा एक करोड चार लाख रुपैयामा टेण्डर भएकोमा ८६ लाख रुपैयामा तमाङ मरिण कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । लामीडाँडा भन्ज्याङ हुदै गोलन्जोर डाँडा जाने करिब तीन किलोमिटर पैदल बाटोमा ७५ लाख रुपैयाको लागतमा रेलिङ हाल्ने काम पनि सम्पन्न भएको छ । रेलिङ हालेको उक्त बाटोमा ट्रेकिङका लागि सिंढी बनाउने योजना गाउँपालिकाले बनाएको स्थानीय शिक्षक बस्नेतले जानकारी दिनुभयो । बहुबर्षे आयोजना अन्र्तगत निर्माण भइरहेको टावरले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने लक्ष्य राखिएको स्थानियले बताएका छन् । भ्युटावर निर्माणसँगै गोलान्जोर डाँडा आन्तरिक तथा बाहिय पर्यटकका लागि आकर्षक स्थलको रुपमा विकसित भएको पनि उनीहरुको भनाई छ ।

प्रतिक्रिया