सिन्धुलीमा साना व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणले आफूहरुलाई मात्र कर कार्यालयले कानुनमा बाँध्न खोजेको आरोप लगाएका छन् । शनिबार कमलामाई नगरपालिका ६ स्थित एक होटलमा पुगेर कार्यालयका कर्मचारीले दुव्र्यवहार गरेको व्यवसायीले गुनासो गरे । आफूले नबुझेर कानुन उल्लंघन गरेपनि कर कार्यालयको कर्मचारीले गरेको व्यवहारले आफूलाई चित्त नबुझेको व्यवसायीले बताए । यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय, जिल्लामा साना व्यवसायीलाई मात्र कानुनमा कडाई गरेको गुनासो आउन थालेको छ । कानुन बमोजिम प्रक्रिया चाल्नु राम्रो हो । तर, ठूलालाई उन्मुक्ति दिएर सानालाई मात्र कानुनको दायरामा ल्याउन खोज्नु ठूलालाई चैन, सानालाई ऐन भने सरह हो । तसर्थ, जिल्लाम संचालित सम्पूर्ण व्यापार व्यवसायलाई करको दायरामा ल्याउन सम्बन्धित निकायले अग्रसरता देखाउन जरुरी छ । त्यसैगरि, कार्यालयका कर्मचारीले पनि कानुन उल्लंघन गर्नेलाई दुव्र्यवहार गर्ने भन्दा पनि परामर्श दिएर कानुनी दायरामा ल्याउन तर्फ विशेष जोड दिन आवश्यक छ ।
जिल्लामा ठूला व्यापारीहरुको संख्या बढिरहेको छ । केहिले करनै नबुझाई व्यवसाय संचालन गरिरहेको अवस्था छ । त्यस्ता व्यवसायीको पहिचान गरि कानुन बमोजिम प्रक्रिया शुरु गर्नतर्फ सम्बन्धित निकायले पहल गर्न जरुरी छ । अतः ठूलालाई चैन र सानालाई ऐन भन्दा पनि सबै नागरिकलाई एउटै व्यवहार गर्न राज्यको निकायले प्राथमिकता दिनुपर्छ ।