शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशीको पानी उपभोक्ताको घर घरमा बितरण

शुक्रवार , बैशाख १७, २०७८

सुनकोसी(सिन्धुली), – सुनकोसी गाँउपालिका–६ चैनपुर निवासी राजन कार्कीलाई गत बर्ष यतिखेर खानेपानीका लागि निकै सकस थियो । यो बर्ष भने उहाँलाई हाईसन्चो छ । बस्तिभन्दा पाँच सय मिटर तल रहेको सुनकोसीको पानी उहाँको गाग्रीमा प्रत्येक दिन भरिन्छ ।

“यो बर्ष खानेपानी समस्याबाट मुक्ति मिलेको छ, घर अगाडीको धारामा चौबिसैं घण्टा खानेपानी झरि रहन्छ,” उहाँले भन्नुभयो, “गाँउमा गत बर्ष माघदेखि सञ्चालन गरिएको चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजना यो बर्ष चैतमा पुरा भएपछि मैले मात्र होईन, गाँउका ७६ घरधुरीले खानेपानी सुविधा पाएका छन् ।”

खानेपानीको लागि पाएको दुःख सम्झेर उक्त योजना पुरा गर्न प्रत्येक घरले पालैपालो ४५ दिनसम्म जनश्रमदान गरेको उहाँले सुनाउनुभयो । उक्त योजनाका अध्यक्ष समेत रहनु भएका कार्कीले भन्नुभयो, “अहिले प्रत्येक उपभोक्ताको घरमा धारा जडान गरिएको छ । खानेपानी उपभोग गरे बापत उपभोक्ताले चार युनिटसम्म न्युनतम १५० रुपैया र त्यसपछि प्रतियुनिट २५ रुपैयाका दरले शुल्क निर्धारण गरेका छौं ।”

उहाँका अनुसार उक्त गाँउमा खानेपानी सुविधा पु¥याउन सुनकोशी नदीको किनारमा ईनार खनिएको छ । उक्त ईनारको पानी मोटरको सहायताले पाँच सय मिटर माथि डाँडामा रहेको २० हजार लिटर क्षमताको पानी संकलन गर्ने ट्याङ्कीमा खसालिएको छ । त्यसपछि ट्यांकी पाईपको सहायताले उपभोक्ताको घर घरमा रहेको धारामा पु¥याईएको छ । ईनारको पानी मोटरको सहायताले डाँडामा रहेको ट्याङ्कीसम्म पु¥याउन सोलार र विद्युत जडान गरिएको छ ।

त्यस्तै सोही वडाको तीनखोप्रेका बासिन्दाले पनि यो बर्षदेखि खानेपानी समस्याबाट मुक्ति पाएका छन । तीनखोप्रेमा पनि चैनपुरको जस्तै सुनकोसीको पानी डाँडामा रहेको तीनखोप्रे बस्तिमा पु¥याईएको छ । तीनखोप्रेका ६९ घरमा खानेपानी सुविधा भर्खरै पुगेको तीनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुनकोसीको किनारमा ईनार खनेर ईनारको पानी मोटरको सहायताले १८० मिटर माथि डाँडामा रहेको एउटा २० हजार लिटर क्षमताको र अर्को आठ हजार लिटर क्षमताको ट्यांकीमा सङकलन गरिएको छ । त्यसपछि पाईपको सहायताले उपभोक्ताको घर घरमा प¥याएका छौं ।”

उहाँका अनुसार खानेपानी योजना निर्माण गर्न तीनखोप्रेका बसिन्दाले पनि डेढ महिनासम्म पालैपालो जनश्रमदान गरेका छन् । घर अगाडीको धारामा चौविसैं घण्टा खानेपानी सुविधा हदा उपभोक्ताले करेसाबारीमा तरकारी खेती समेत सुरु गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीको खानेपानी सरसफाई तथा स्वच्छता प्रबद्र्धन पुनर्लाभ परियोजना अन्तर्गत निर्माण सम्पन्न यि दुवै खानेपानी आयोजना बुधबार एक समारोह बीच उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका परियोजना संयोजक जयबहादुर चौधरीका अनुसार चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजना ७४ लाख ४० हजार ७४५ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त लागत मध्ये नेपाल रेडक्रस सोसाईटिको ४० लाख ९३ हजार ५१९ रुपैया, सुनकोसी गाँउपालिकाको १४ लाख ९८ हजार ४२८ रुपैया सहयोग रहेको छ । त्यस्तै उपभोक्ताको १८ लाख ४८ हजार ४९८ रुपैया बराबरको जनश्रमदान रहेको छ ।

त्यस्तै तीनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजना एक करोड पाँच लाख ८४ हजार ६६७ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त लागत मध्ये नेपाल रेडक्रस सोसाईटिको ७२ लाख ५८ हजार ६८३ रुपैया, सुनकोसी गाँउपालिकाको १७ लाख ७२ हजार १८३ रुपैया सहयोग रहेको छ । त्यस्तै उपभोक्ताको १४ लाख पाँच हजार ४०४ रुपैया बराबरको जनश्रमदान रहेको उहाँले सुनाउनुभयो ।

योजनाको दिगोपनाका लागि चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजनाका उपभोक्ताले प्रत्येक घरबाट एक हजार रुपैयाका दरले नगद सङकलन गरी ७६ हजार रुपैयाको मर्मत संभार कोष र तीनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजनामा पनि प्रत्येक घरबाट एक हजार रुपैयाका दरले नगद सङकलन गरी ६९ हजार रुपैयाको मर्मत संभार कोष स्थापना गरिएको छ । मर्मत संभार कोषमा भएको रकम बराबर नेपाल रेडक्रस शाखाले थपिदिएको परियोजना संयोजक चौधरीले सुनाउनुभयो ।

दुबै खानेपानी आयोजनाको सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले उद्घाटन गर्नु भएको हो । बिगतको समयमा खानेपानीको चरम समस्या भोग्दै आएका चईनपुर तथा तिनखोप्रेका स्थानियहरुमा सौर्य लिप्mट खानेपानि आयोजनाले ठुलो राहत दिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुली सभापती असोक श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया