शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

रिलिफ नेपाल सिन्धुलीको शिलबन्दी दरभाउ प्रक्रिया नै त्रुटीपूर्ण

बुधवार , बैशाख १५, २०७८

सिन्धुली,१५ बैशाख – रिलिफ नेपाल सिन्धुलीले वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालित “बाल प्रत्याभुत संचार परियोजना”लागु भएका सिन्धुली जिल्लाका विभिन्न स्थानका बालबालिकाहरुलाई वितरण गर्न छपाई गरेको २६ हजार ६ सय २५ थान कपिको शिलबन्दी दरभाउ पत्रका प्रक्रियाहरु नै त्रुटीपूर्ण रहेको पाईएको छ ।

दरभाउ पत्रमा प्रतिस्पर्धा गरेका केहि सप्लायर्सहरुले दरभाउ पत्रमा उल्लेखित गुणस्तर भन्दा कम मापदण्डको कपि छपाई भएर आएको भन्दै कपिको गुणस्तर मापन गर्न माग गर्दै डोनर संस्था वल्र्डभिजन ईन्टरनेश्नलको ध्यान आकृष्ट गराएपछि रिलिफ नेपालले गरेको कपि छपाई सम्बन्धी प्रक्रियामा विवाद उत्पन्न भएको थियो । विवाद पछि मिडियाकर्मीहरुले दरभाउ पत्र सम्बन्धी कागजपत्र माग गर्दा वल्र्डभिजन कार्यक्रमका कर्मचारीहरुले फोन नै नउठाउने, उठाएपनि कागपत्र यहाँ नभएकाले दिन नसकिने जस्ता जवाफ दिएर टार्ने गरेका छन् । शिलबन्दी दरभाउ पत्र आह्वान, संकलन, खोल्ने कार्य र सप्लायर्स छनौट गर्ने निर्णय पुस्तीकाको प्रतिलिपि माग गर्दा दिन नसकिने बताईएको छ । जिल्लाका छापाखानहरुको आरोप र संस्थाको कागजात नदिने गतिविधिका तथा कोटेशन प्रक्रियामा अपनाउनु पर्ने विभिन्न विधिहरु नअपनाईएकालेसंस्थाले गलत मनासयले प्रक्रिया अगाडि बढाएको पुष्टि हुने देखिन्छ ।

२०७७माघ २७ गते प्रथमपटक १४ दिने सूचना जारि गरि गरिएको शिलबन्दी बोलपत्र आह्वानमा शिलबन्दी बोलपत्र कहिले खोल्ने भन्ने कुरा नै उल्लेख गरिएको छैन । सामान्यतया बोलपत्र अन्तीम दिन १२ बजे सम्म बुझाउने र सोहि दिन कार्यालय समय भित्र खोलिसक्ने गरि मिति तोकिएको हुन्छ । तर रिलिफ नेपालले बोलपत्र खोल्ने मिति सूचनामा तोकेको छैन र अन्तिम दिन पनि बोलपत्र बुझाउने सप्लायर्सहरुलाई कुन दिन बोलपत्र खोल्ने भनेर जानकारी गराएको छैन । बरु बोलपत्र संकलन गरेको दश पन्द्र दिन पछि बोलपत्र आफुखुशि खोलेको छ । कुन मितिमा बोलपत्र खोलियो भनेर यस सम्बन्धी माईन्यूट माग गर्दा आलटाल गनुर््ले यो कुरालाई झनै संकास्पद बनाएको छ ।

बोलपत्र आह्वान गरेपछि कार्यालयको छाप लागेको तथा आधिकारीक हस्ताक्षर भएको बोलपत्र फाराम अघिल्लो दिन कार्यालय समय भित्र खरिद गर्नु पर्ने हुन्छ । बोलपत्रमा माग गरिएको सामानको सबैखाले स्पेसिफिकेसन उल्लेख गरिएको हुनु पर्छ र त्यहि बोलपत्रमा दररेट उल्लेख गरि सप्लायर्सको लेटरहेडमा निवेदन, फर्मदर्ताका कागजात, करचुक्ता सहित बोलपत्र अन्तिम दिन १२ बजे सम्म पेश गरिसक्नु पर्छ । तर रिलिफ नेपालले बोलपत्र फारम नै नबनाई ५ लाख भन्दा मुनिको कोटेशनलाई जसरी बोलपत्र आफूखुशि सप्लायर्सको लेटरहेडमा पेश गर्न भनेको थियो ।

सूचनामा बोलपत्र पेश गर्ने अन्तीम मिति चौधौ दिनको १२ बजे सम्म उल्लेख भएपनि १२ बजे पछि बोलपत्र दर्ता प्रक्रिया बन्द भएको माइन्युट उठाउन तथा बोलपत्र भपाई क्लोज गर्न माग गर्ने सप्लायर्सहरुको सुनुवाई नगरि १२ बजे पछि पनि बोलपत्र दर्ता गरिएको पाईएको छ । अन्तिम समय सम्म रिलिफ नेपालको अफिसमा बसेका परजुना सप्लायर्सका सञ्चालक शुशिल देवकोटाले बोलपत्र फारम क्लोज गर्न पटक पटक आग्रह गर्दा पनि १२ः३० बजे सम्म बोलपत्र आउदै छ भनेर कार्यालयका कर्मचारीहरुले बन्द गर्न नमानेको बताउनु भयो । बोलपत्र भपाई सार्वजनिक गर्न माग गर्दा नदिने, बोलपत्र खोल्न बोलपत्र पेश गर्नेहरुलाई नबोलाउने गतिविधिले पनि संस्थागत अनियमिततालाई पुष्टि गर्छ । परजुना सप्लायर्सले नै अन्तिम समयमा बोलपत्र बुझाएकाले त्यो पछि प्राप्त बोलपत्र के आधारमा प्रक्रियामा सहभागि भए भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

समय सकिएपछि प्राप्त बोलपत्रलाई समेत प्रक्रियामा समावेश गरेको संस्थाले समय भित्र आएका बोलपत्रमा खाममा लेख्नुपर्ने कोड नं. नलेखेको भनेर प्रक्रियामै सहभागि नगराएको पाईएको छ । बोलपत्र बुझेको भपाई बनाउदा कपि छपाई सम्बन्धी प्राप्त बोलपत्रहरु भनि उल्लेख गरेपनि खोल्ने बेलामा कोड उल्लेख नभएको भनेर नखोलिएको जबाफ ति फर्महरुलाई दिईएको थियो । खाममा लेख्नुपर्ने कुराहरु देखिने विषय भएकाले त्यो पूरा नभई कसरी दर्ता गरियो ? देखिने विषय नै उल्लेख नभएका शिलबन्दी खाम दर्ता नै नहुने पर्ने हो तर गरिएको छ । पछि खोलिएको छैन । यसरी आफूलाई आवश्यक पर्ने ३ वटा मात्र शिलबन्दी खाम खोलेर बाँकीलाई पाखा लगाईएको छ । अयोग्य भएपनि ति ७ वटा साप्लायर्सलाई पनि बोलाएर शिलबन्दी दरभाउ पेश गर्ने १० वटा नै सप्लायर्सको उपस्थितिमा माईन्युटमा हस्ताक्षर गराएर सबैका सामुन्ने बोलपत्र पेश गर्ने सबैले सबैको खाममा हस्ताक्षर गर्नुपर्ने हो अनि मात्र बोलपत्र खोल्नु पर्ने हो । संस्था यो काम गर्न पनि चुकेको छ यि सबै गतिविधिहरुले संस्थाले सुरु देखिनै गलत मनसायले प्रक्रिया अगाडि बढाएको प्रष्ट हुन्छ ।

ढिला गरि आएका बोलपत्रलाई संस्थाको काठमाडाँै कार्यालयमा दर्ता भएको मौखिक जवाफ दिने गरेको छ । सूचनामा भने कहि कतै बोलपत्र काठमाडाँै कार्यालयमा बुझाउन सकिने भनेर ठेगाना उल्लेख गरिएको छैन । बुझाउने ठेगाना नै सिन्धुलीको मात्र दिएको सन्र्दभमा काठमाडाँैमा कुन सप्लायर्सले के आधारमा बोलपत्र बुझायो त्यो पनि छानमिनको विषय हो । यदि त्यसो हो भने काठमाडाँैमा भएको बोलपत्र दर्ता भपाई र सिन्धुलीमा भएको दर्ता भपाई अलग अलग हुनु पर्ने त्यो कहिले सार्वजनिक हुन्छ ? रिलिफ नेपालको शिलबन्दी दरभाउ पत्रमा सहभागि भएका सिन्धुली जिल्ला स्थिति ६ वटा सप्लायर्स फर्महरुले यो विषयमा आपत्ति जनाएर आबाजहरु उठाउदै आएका छन् । यसको सत्य तथ्य र न्यायोचित छानमिन हुन आवश्यक छ ।

गैर सरकारी संस्थाहरुले गर्ने यस्ता सार्वजनिक खरिद प्रक्रिया र गतिविधिहरु संस्थागत भन्दा पनि व्यक्तिगत हुने गरेका छन् । सरकारी निकायले आह्वान गर्ने बोलपत्र, टेण्डर खोल्ने कार्यका लागि विभिन्न फरक संस्था तथा कार्यालयका प्रतिनिधिहरु आवश्यक पर्दछ तर गैरसरकारी संस्थाले भने यस्ता कार्या मनखुशि गर्ने गरेका छन् जसले गर्दा अनियमितता हुने गरेको छ ।

रिलिफ नेपालले यो शिलबन्दी दरभाउ पत्र नभएर अन्य प्रक्रियामा पनि यस्तै छलकपट गर्ने गरेको सिन्धुलीका छापाखानाहरु बताउने गर्दछन । कोटेशन माग गर्दा उच्च गुणस्तरको मापदण्डको माग गर्ने र आफूसँग मन मिलेको सप्लायर्स सँग फरक गुणस्तरको सम्झौता गरेर सोहि अनुसार छपाई गर्न लगाई सामान स्वीकार गर्ने गरेको पाईएको छ । रिलिफ नेपालले २०७८ सालको क्यालेन्डर छाप्नका लागि पनि लेमिनेश गरिएको क्यालेण्डरको दर रेट माग गरेर जिल्लाका विभिन्न छापाखानाहरुलाई कोटेशन फर्म पठाएको थियो तर छपाई गरेर ल्याउदा लेमिनेश नभएको क्यालेण्डर ल्याएको छ । प्रक्रिया पूरा गर्न ३ वटा कोटेशन चाहिने भएकाले उच्च गुणस्तरको स्पेसिफिकेशन राखेर कोटेशन माग गर्ने, सप्लायर्सहरुले तोकिए अनुसारको गुणस्तर मेन्टेन गर्दा महंगो मूल्य पेश गर्छन, आफूलाई छाप्नु परेको सप्लायर्स लाई त्यो गुणस्रत नभएर पनि हुन्छ भनेर सस्तोमा कोटेशन हाल्न लगाउने र काम गराउने गरेको पाईएको छ । रिलिफ नेपालको २०७८ सालको क्यालेण्डर पनि कपि छपाई गरेकै म्याप अल ग्रुप प्रा.लि.ले नै छपाई गरेको छ । यसले पनि रिलिफ नेपालको कोटेशनको नामको ठगि धन्दाको भित्रि रहस्य प्रष्ट हुन्छ ।

प्रतिक्रिया