शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याई

बुधवार , बैशाख १५, २०७८

सिन्धुली,१५ बैशाख – सिन्धुली जिल्लामा कोरोना संक्रमित बिरामी बढी रहेको बेला स्वास्थ्य मापदण्ड पालनामा गर्न हेलचेक्र्याई भई रहेको छ ।

कोरोना संक्रमणको पर्वाह नै नगरी २५ जना भन्दा बढीको उपस्थितीमा विवाह, भोजभतेर, भौतिक उपस्थितीमा विद्यालय सञ्चालन, सरकारी कार्यालयबाट सभा, गोष्ठि जस्ता कार्य भई रहेको स्थानीयको गुनासो छ । दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै सिन्धुली जिल्लामा संक्रमित बिरामीको संख्या १९ पुगको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थय मापदण्ड पालना गराउने सरोकारवाला निकायहरु नै सरकारी निर्णयको अबज्ञा गरि विभिन्न कार्यक्रम गरि रहेको कमलामाई नगरपालिका–६ का वडा सदस्य लोकबिक्रम थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सडक र चिया पसलमा पनि भिडभाडमा कुनै कमी देखिदैन । न त सामाजिक दुरी कायम गरेको पाईन्छ, न त माक्स र सेनिटाईजरको नै प्रयोग गरेका छन् ।”

सरकारले सामाजिक दुरी कायम गर्दै २५ जनाभन्दा बढी भेला भएर कुनै कार्यक्रम नगर्नु भने पनि सिन्धुली जिल्लामा त्यो नियमन निकायबाटै उल्लंघन भई रहेको उहाँको गुनासो छ ।

त्यस्तै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदार स्वास्थ्य मापदण्ड पालनामा गर्न हेलचेक्र्याई गर्न नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनालाई कसैले पनि ख्याल ख्याल ठान्नु हुदैन । स्वास्थ्य मापदण्ड पालन गर्न सबैले ध्यान दिनु पर्छ । माक्स प्रयोग, स्यानिटाईजर प्रयोग गर्न पनि ध्यान दिनु प¥यो । कोरोना बिरुद्ध जनचेतना बृद्धि गर्न माईकिङ गरी प्रचार प्रसार गरि रहेका छौ ।”

मंगलबार मात्रै उद्योग बाणिज्य संघले बजार क्षेत्रमा व्यवसायि र सडकमा हिड्नेलाई तीन हजार माक्स बितरण गरेको सुनाउनुभयो ।

त्यस्तै जिल्लामा शैक्षिक संस्थाहरु पनि सरकारले दिएको निर्देशन लाई अवज्ञा गरि सञ्चालन भई रहेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीले कोरोनाको जोखिमलाई ध्यान दिदै आइतबारबाट जिल्लाका सबै विद्यालयहरु बन्दगर्न निर्देशन दिएपनि यहाँका अधिकांस सामुदायिक र नीजि विद्यालय अझै सञ्चालन भई रहेका छन् ।

सदरमुकाममै रहेका शिद्धबाबा मावि पानिट्यांकी, गौमती मावि, सिद्धस्थली मावि लगायतका अधिकांस सामुदायिक र नीजिस्तरका विद्यालय सञ्चालन गरिएपछि अभिभावक आक्रोसित समेत भएका छन् । सरकारले सबै किसिमका परीक्षा समेत स्थगित गरेर विद्यालय बन्द गर्न भनेपनि यहाँका केही विद्यालयले परीक्षाका नाममा विद्यालय सञ्चालन गरिरहनु लाजमर्दो विषय भएको अभिभावकको गुनासो पाईन्छ ।

उता प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले कमलामाई नगर शिक्षा समितिले कुनै निर्णय नगरि दिदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासनले बन्द गर्न भनेपनि नगर शिक्षा समितिले विद्यालय बन्द गर्ने की परिक्षा लिने भन्ने निर्णय गरेको छैन । नगरले बन्द गर्न भने भोलीबाटै विद्यालय बन्द गर्न तयार छौं ।”

यता प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालय सञ्चालन भई रहेको सुनिएको छ । मंगलबार नै शिक्षा विकास तथा समन्वय ईकाई, प्रअहरुलाई बोलाएर बैठक बसेर बिद्यालय बुधवारदेखि बन्द हुने छ ।”

“हामीले सरकारको निर्णयलाई कार्यान्वयन गर्न भनेका छौं अटेर गरेर विद्यालय खोले संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया