सिन्धुली,१४ बैशाख – बिनासकारी भुकम्प गएको छ बर्ष बित्दा सिन्धुली जिल्लामा सरकारीस्तरबाट पुननिर्माणमा झण्डै साँढे ११ अर्ब रुपैया खर्च भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुुसार नीजि आवास, सरकारी भवन, स्वास्थ्य चौकी, स्थानीय पूर्वाधार निर्माण, सम्पदा पुन निर्माण र सम्पदा मर्मत तथा संरक्षणमा हालसम्म ११ अर्ब ३९ करोड ५२ लाख ३२ हजार ८४४ रुपैया खर्च भईसकेको हो ।
उक्त खर्च सरकारीस्तरबाट भुकम्पले क्षती पु¥याएको संरचना पुननिर्माण तथा मर्मतमा खर्च भएको कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नीजि आवास भवनतर्फ १० अर्ब ६२ करोड ३० लाख ५० हजार रुपैया, पाँच वटा सरकारी भवन निर्माणमा २७ करोड, ६६ लाख ९२ हजार ९२९ रुपैया, दुई वटा स्वास्थ्य चौकी भवन निर्माणमा छ करोड ९५ लाख ३०५ रुपैया, स्थानीय पूर्वाधार निर्माणमा ४० करोड ५६ लाख ४२ हजार २८३ रुपैया, चार वटा सम्पदाको भवन पुननिर्माणमा दुई करोड ३२ लाख ३६ हजार, ३३४ रुपैया, र नौ वटा सम्पदा मर्मत तथा संरक्षणमा ६५ लाख १५ हजार ९९३ रुपैया खर्च भएको छ ।
नीजि आवसतर्फ खर्च भएको रकम मध्ये पनि नीजि आवास पुननिर्माणमा १० अर्ब पाँच करोड, दुई लाख रुपैया र प्रबलिकरण तर्फ ५० करोड २८ लाख ५० हजार रुपैया खर्च भएको कार्यालय प्रमुख बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नीजि आवास पुननिर्माणतर्फ हालसम्म पहिचान भएका कुल लाभग्राही ३९ हजार ६५० जना रहेका छन् । ती मध्ये ३८ हजार २२३ जनाले मात्रै नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेका छन् । पहिलो किस्ता बापत एक अर्ब ९१ करोड ११ लाख ५० हजार रुपैया खर्च भएको छ ।”
त्यस्तै दोस्रो किस्ताका लागि ३५ हजार ३१९ जनाले सम्झौता गरेका र पाँच अर्ब २९ करोड ७८ लाख ५० हजार रुपैया खर्च भई सकेको छ । तेस्रो तथा अन्तिम किस्ताका लागि २८ हजार ४१२ जनाले सम्झौता गरेका र दुई अर्ब ८४ करोड १२ लाख रुपैया खर्च भई सकेको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै प्रबलिकरणका कुल लाभग्राही १३ हजार ४१५ जना मध्ये ११ हजार ४४१ जनाले सम्झौता गरेका र ५७ करोड २० लाख ५० हजार रुपैया खर्च भएको छ । दोस्रो तथा अन्तिम किस्ताका लागि १६ जनाले सम्झौता गरेका र आठ लाख रुपैया खर्च भई सकेको कार्यालय प्रमुख बिष्टले सुनाउनुभयो । उहाँले यसअवधिमा प्रबलिकरण तर्फका एक हजार ५४८ जना लाभग्राही नीजि आवास पुननिर्माणमा परिवर्तन भएको जानकारी दिनुभयो ।
कार्यालयका अनुसार स्थानीय पुर्वाधार पुननिर्माण अन्तर्गत २९ किमि लम्बाईको पिपलभञ्ज्याङ – हायुटार–नेत्रकाली सडक निर्माण ३८ करोड २९ लाख ८९ हजार ३०७ लागतमा सम्पन्न भएको छ । त्यस्तै सिम्लेखोलामा पक्किपुल दुई करोड ५५ लाख १७ हजार ४४० रुपैयाको लागतमा निर्माणाधिन अवस्थामा रहेको छ ।
त्यस्तै सरकारी भवनहरु प्रमुख जिल्ला अधिकारीको निवास भवन, जिल्ला भूसंरक्षण कार्यालय, डिभिजन वन कार्यालय, सिंचाई डिभिजन कार्यालय, एकिकृत सरकारी कार्यालय भवन २७ करोड ६६ लाख ९२ हजार ९२९ रुपैयाको लागतमा निर्माण भएको छ ।
त्यस्तै तीनपाटन गाँउपालिकास्थित भिमस्थान स्वास्थ्य चौकी र सुनकोसी गाँउपालिकास्थित झाँगाझोली स्वास्थ्य चौकी छ करोड ९५ लाख ३०५ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ । सम्पदा पुननिर्माण अन्तर्गत चार वटा गुम्बाको भवन दुई करोड ३२ लाख ३६ हजार ३४४ रुपैयाको लागतमा निर्माण भएको छ । सम्पदा मर्मत तथा संरक्षण अन्तर्गत १२ वटा गुम्बा ६५ लाख १५ हजार ९९३ रुपैयाको लागतमा र्ममत गरिएको कार्यालय प्रमुख बिष्टले सुनाउनुभयो ।