शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कोरोना रोकथाम गर्न सिन्धुलीमा माक्स अनिवार्य गर्न कडाइ गरिने

सोमवार , बैशाख १३, २०७८

सिन्धुली,१३ बैशाख – कोभिड १९ व्यवस्थापन केन्द्र सिन्धुलीले माक्स लगाउन कडाइ गर्ने भएको छ । सिन्धुलीमा बसेको उक्त बैठकले पछिल्लो समय देशभर कोरोना संक्रमण दर बढेको भन्दै संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागि स्वास्थ्य सर्तकता अपनाउन माक्स अनिवार्य गर्ने भएको हो ।

माक्स अनिवार्य लगाउन दबाब दिने र प्रहरी प्रशासनले समेत कडाई गर्ने भएको छ । माक्स नलगाउनेलाई कारवाही गर्ने तथा झापड लगाउनुपर्ने संघिय सांसद हरिबोल गजुरेलले बताउनु भयो । माक्स नलगाउनेलाई प्रहरीले थुन्ने तथा झापड लगाउने गर्नुपर्छ अनि सबैले माक्स लगाउछन्, सांसद गजुरेलले भन्नु भयो ।

तर सांसद गजुरेलको भनाईलाई खण्डनन् गर्दै नेपाली काँग्रेसका सभापति उज्ज्वलप्रसाद बरालले सर्वसाधारणलाई झापड हान्न र थुन्न नहुने बताउनु भयो । “माक्स लगाउन सचेतना फैलाउनुपर्छ तर झापड हान्ने र थुन्ने आदेश दिएर सर्वसाधारण जनतालाई अन्याय गर्न मिल्दैन”, उहाँले भने कतिपयसँग माक्स किन्ने क्षमता समेत हुदैन अनि त्यस्ता निमुखालाई थुन्ने आदेश नदिइयोस् ।” उहाँले सानालाई ऐन र ठुलालाई चैन को अवस्था ल्याउन नहुने बताउनु भयो ।

बैठकले कोरोना संक्रमित भई मृत्यु भएमा त्यस्ता मृतकको शब व्यवस्थापन गर्न पालिका स्वयम्ले स्थान तोक्ने निर्णय गरेको छ । यस्तै विगतमा बनाइएको क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्ने, विद्यालयले स्वास्थ्य मापदण्ड प्रयोग गरि जतिसक्दो चाडो परिक्षा सक्नुपर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो । विदेशबाट आउनेलाई अनिवार्य रुपमा दश दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय भएको छ ।

सुनकोसी गाँउपालिका प्रमुख दिपा दाहालले सरकारलेनै स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै प्रधानमन्त्रीले धरहरा उद्घाटन गर्दा ठुलो संख्यामा नेता कार्यकर्ताको भेला गरि थप जोखिम निम्त्याएको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र शाहले कोरोना रोकथामका लागि स्थानिय सरकार फेरी सक्रिय बन्नुपर्ने र जिल्लामा अक्सिजन तथा क्वारेन्टाइन बढाउनुपर्ने बताए । कार्यक्रममा गोलञ्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की, घ्यालेख गाँउपालिकाका प्रमुख जगत भोलन, फिक्कल गाँउपालिका प्रमुख धनबहादुर कार्की, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, प्रदेश सभा सदस्य राजन दाहाल, प्रदिप कटुवाल र विनोद खड्का लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया