शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जुनारको फल कुहाउने औषा मार्न प्रोटिन बेट छर्न सुरु

सोमवार , बैशाख १३, २०७८

जुनार क्षेत्रमा प्रोटिनबेट छर्ने तयारीमा रहेको स्प्रेकर्ता ।

सिन्धुली,१३ बैशाख – यहाँको जुनार क्षेत्रका जुनारका बोटमा प्रोटिन बेट छर्न सुरु गरिएको छ । सिन्धुलीका जुनारको बगैचामा बर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सुरु गरिएको हो । जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम विगत केहि बर्षदेखि प्रभावकारी देखिएपछि यस बर्ष जुनारको बगैचामा प्रोटिनबेट(औषधी) छर्न सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ । जिल्लाको मुख्य नगदे बालिको रुपमा रहेको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले आक्रमण गर्न थालेपछि उक्त किरा नियन्त्रणका लागि जुनार बगैचामा प्रोटिन बेट छर्नका लागि स्प्रे कर्ता खटाइएको छ । जुनार बगैचा व्यवस्थापन तथा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको प्रोटिनबेट स्प्रे कार्यको सुरुवात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईका प्रमुख देबराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश न्यैपानेको उपस्थितिमा गोलञ्जोर गाउँपालिका ६ नाकाजोलीबाट स्प्रे गर्न थालिएको हो । “जुनार तथा सुन्तलाजात फलफुलको औसा किरा व्यवस्थापनका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्र्तगत प्रोटिनबेट छर्न सुरु भएको छ”, कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “किसानको तर्फबाट ९ लाख ५० हजार र कार्यालयको तर्फबाट ९ लाख ५० हजार गरि १९ लाख बराबरको साझेदारी रकममा प्रोटिन बेट खरिद गरि स्प्रे गर्न सुरु गरिएको छ ।” जिल्लाभरको जुनार बगैचामा स्प्रे गर्नका लागि ९ सय ५० लिटर प्रोटिन बेट खरिद भएको र छर्ने क्रममा केहि अपुग भए थप गर्नुपर्ने किसानहरु बताउछन् । बगैचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा औषधि छर्कने गरिएको कृषि प्राविधिक जहानसिंह कार्कीले बताउनु भयो । जिल्लाभरका जुनार बगैचामा प्रोटिन बेट स्प्रे गर्नका लागि ३२ जना स्प्रेकर्तालाई तालिम दिएर दक्ष बनाई बगैचामा खटाइएको कार्यालयले जनाएको छ । किरा व्यवस्थापनका लागि स्प्रे बैशाखको दोस्रो हप्ताबाटै सुरु गर्नुपर्ने भएकाले स्प्रे गर्न थालिएको किसान बताउछन् । क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको विधि अनुसार फलेका ३ बोट मध्ये १ बोटमको निश्चित ठाँउमा चिन्हो लगाई एक भागमा प्रोटिन बेटमा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको १ पटकका दरले जम्मा १० पटक स्प्रे गर्नुपर्ने कार्यालय प्रमुख अधिकारीले जनाउनु भयो । उहाँका अनुसार स्प्रे गर्नका लागि जुनार बगैचामा ३२ जना स्प्रेकर्ता खटाइएको हो । जुनारको फल कुहाउने औषा पार्ने किराको पोथी झिगाले फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक कार्कीले बताउनु भयो । “यो सस्तो र भरपर्दा विषादी हो”, उहाँले भन्नु भयो,“स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन्, र मर्छन् ”। जुनारको फल लाग्ने सिजनमा किराले जुनारमा आक्रमण गर्ने र फल भित्र औषा पारेपछि फलमा गुलियो पस्दै जाँदा किराले खोक्रो पार्ने समस्या जुनारमा २०७२ सालबाटै सुरु भएको थियो ।

प्रतिक्रिया