बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स्वयं सचेत बनौँ, सावधानि अपनाऔँ

आइतवार , बैशाख १२, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित २ नं बजारमा शनिबार हाटबजार लाग्यो । हजारौँको संख्यामा उपभोक्ताहरु न्युनतम सावधानि पनि नअपनाई किनमेलकालागि बजार पुगे । यो सबै दृश्य प्रशासन देखि जनप्रतिनिधिले देखिरहेका थिए । तर, कोभिड संकट व्यवस्थापन केन्द्र, हाटबजार संचालक समिति, स्थानिय तह लगायत कुनै पनि सरोकारवाला निकायले कोरोना भाइरस फैलन सक्ने भिडलाई नियन्त्रण गर्न कुनै पनि कदम चालेनन् । निर्वाध रुपमा हाट बजार चलिरह्यो । जिल्ला प्रशासनले केहि समयअघि मात्रै कोरोना भाइरसको जोखिमबाट बच्न भिडभाड नगर्न र प्रशासनको निर्णयविरुद्ध गए कानुन बमोजिम कार्वाही हुने बताएको थियो । तर, यी सबै निर्णय फगत भए । सिन्धुलीमा दिनहुँ जसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्रै पनि पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी दिनहुँ जिल्लामा कोरोना भाइरसले ताण्डव मच्चाइरहेको बेला मानिसको लापर्वाहीको ताण्डव मच्चिनु दुखद र जोखिमपुर्ण छ । तसर्थ, सम्बन्धित निकायले यस्ता कमजोरी र लापर्वाहीलाई नियन्त्रण गर्न आफू कमजोर हुनुहुदैँन । अन्यथा, अन्य जिल्लामा जस्तै सिन्धुलीमा पनि कोरोना संक्रमणले उच्च मानविय क्षति नहोला भन्न सकिन्न ।

शनिबार हाट बजारमा देखिएको दृश्यबाट सरोकारवाला निकायले आँखा खोल्नुपर्छ । जनप्रतिनिधि लगायत राज्यका प्रतिनिधिहरुले कोरोना भाइरसको जोखिमलाई नजरअन्दाज गरिरहेको अवस्थामा अब भने सरोकारवाला निकायले जिम्मेवार पक्षलाई घच्घचाउन जरुरी छ । त्यसैगरि, हरेक नागरिकले आफू सचेत भएर सावधानि अपनाउनतर्फ गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया