शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका सात पालिका दमकल विहीन

शुक्रवार , बैशाख १०, २०७८

सिन्धुली,१० बैशाख – स्थानीय तह गठन भएको वर्षौ बितिसक्दा समेत सिन्धुली जिल्लामा सात वटा पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् ।

सात गाउँपालिका र दुई नगरपालिका सहित नौ स्थानीय तह रहेको सिन्धुली जिल्लामा यतिखेर सात वटा पालिका दमकल बिहिन अवस्थामा रहेका छन् । जिल्लाको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा मात्रै एक÷एक वटा दमकल रहेको छ ।

आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको मरिण गाउँपालिका–१ का बासिन्दा बिरबहादुर वाईवाले

गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “मरिण गाँउपालिकाको धरै जसो वडामा दमकल जान सक्ने ठाँउ रहेपनि अहिलेसम्म पालिकाले दमकल खरिद गर्न चासो देखाएको छैन । यहाँ रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो बस्तिमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको छ ।”

अधिकांस स्थानीय तहले सबै वडाको सबै ठाँउमा जानसक्ने सडकको पँहुच नभएकोले दमकल खरिद नगरेको जनाएका छन् । मरिण गाँउपालिकाका सूचना अधिकारी सुदिप केसी अहिलेसम्म गाउँपालिकाले दमकल किन्ने कुनै योजना नबनाएको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँपालिकाको स्वमूल्यांकनमा दमकलको बिषयमा कुरा उठेको थियो । मूल्यांकन गर्न आउनु हुनेहरुले पनि गाँउपालिका एक्लैले किन्न नसके पनि छिमेकको पालिकासँग मिलेर किन्न राम्रो सुझाव दिएर जानु भएको छ ।”

दमकल एक्लै पाल्न पनि गाह्रो भएकाले अब आउने गाउँसभाबाट पास गरी आगामी बर्ष छिमेकको हरिहरपुरगढी गाँउपालिकासँग मिलेर किन्ने की भन्ने सोच अहिले बढेको उहाँले सुनाउनुभयो ।

अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिर पाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेकाले दमकल किन्न नसकिएको तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दमकल किन्न खर्च पनि धेरै लाग्छ । दमकल त किनौला, प्रयोगमा आएन भने त्यसको अर्थ पनि छैन । त्यसैले हामीले दमक नकिनेको हो ।”

गत बर्ष गोलन्जोर गाँउपालिका–३ को जंगलमा भिषण आगलागि हुद कमलामाई नगरपालिकाको दमकल लगेर आगो निभाएको स्थानीय बासिन्दा बताउदछन् । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने स्थानीय बासिन्दा रामबहादुर भुजेल बताउनुहुन्छ ।

आकस्मिक रुपमा हुने आगलागी निभाउने यन्त्र नहुँदा जिल्लामा हरेक वर्ष ठूलो क्षति हुने गरेको स्थानीयको भनाई पाईन्छ । स्थानीयका अनुसार सुख्खा मौसममा हुरी बताससँगै आगलागिका घट्ना बढी हुने भएकाले दमकलको अभाव महसुस हुन थालेको छ ।

दमकलको सुविधा भएको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा समेत बजार क्षेत्रमा दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नबनाईदा समस्या हुने गरेको छ । गर्मी मौसमको सुरुसँगै आगालागिका घट्नाको जोखिम बढ्दै जाँदा बजार क्षेत्रमा दमकललाई पानी भर्न मिल्ने गरी फायर हाइड्रेन्ट अहिलेसम्म निर्माण नगरिएको स्थानीय बासिन्दाको गुनासो पाईन्छ ।

दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउतले भन्नुभयो, “अन्य ठाँउमा आगलागि भयो भने दमकलमा पहिले भरेको पानी सकिदा खोलामा गएर भर्नुको बिकल्प छैन । नगरपालिकाका अरु वडा पनि आगलागि घट्नाको बढी जोखिमयुक्त ठाँउ रहेका छन् ।”

कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको स्थानीय बताउछन् ।

प्रतिक्रिया