शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सरकारी बजेटमा सिन्धुली कमलामाई नगरपालिकाको मेयरको मस्ती

बिहिवार , बैशाख ९, २०७८

यहाँको कमलामाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा दोलखा पुगेर खिचेको सामुहिक फोटो ।

सिन्धुली,०९ – कोरोना भाइरसको महामारी फैलदै गएको समयमा यहाँको कमलामाई नगरपालिकाका मेयर सहितको टोली भ्रमणमा निस्किएको छ । कमलामाई नगरपालिकाका मेयर सहित जनप्रतिनिधि र कर्मचारी सरकारी बजेट खर्च गर्दै भ्रमणमा निस्किएका हो । नगर प्रमुख खड्गबहादुर खत्रीको नेतृत्वमा जनप्रतिनिधि र केहि कर्मचारीहरु भ्रमणमा निस्किएका हुन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपनि त्यसलाई बेवास्ता गर्दै मेयर आफै भ्रमणको नेतृत्व गर्दै विभिन्न जिल्लामा भ्रमण गर्न जानु भएको हो । देशभर संक्रमणको दर बढिरहेको बेला नगरपालिकाले कोरोना संक्रमण रोकथाम गर्न अगुवाई गर्दै उपचारका लागि समेत व्यवस्था गर्ने तथा तयारी गर्नुपर्ने समयमा नगरप्रमुख र वडाअध्यक्षहरुको भ्रमणले स्थानिय समेत आश्चर्यमा परेका छन् । कोरोनाका कारण देखाउदै धेरै शिर्षकका बजेट काटियो तर जनप्रतिनिधि र कर्मचारीको घुमघाम गर्ने बजेट यथावत् राखेर मेयर आफै घुम्न जानु उचित देखिएन, नगरका स्थानियले भने, “सानालाई ऐन र ठुलालाई चैन भएको छ यो महामारी ।” भ्रमणमा कमलामाई नगरपालिकाका मेयर खत्री, वडा नम्बर २ का वडाअध्यक्ष नबराज थिङ, ५ नम्बरका अध्यक्ष पुर्णबहादुर खड्का, वडानम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापा, नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का अध्यक्ष कर्णबहादुर घिसिङ सहभागि हुनु हुन्छ । यस्तै वडा नं. ८, ९ र १० का वडाअध्यक्षहरु क्रमश टिकाबहादुर मोक्तान, देबराज पौडेल, र रामहरि ढुंगेल भ्रमणमा सहभागि हुनु भएको छ । यसैगरि कर्मचारी तर्फ इन्जिनियर बिनोदबाबु खकुराल, इन्जिनियर आस्तिक बराल, कृषि शाखाका देवी सापकोटा, इलेक्ट्रिक इन्जिनियर नविन बस्नेत, जिन्सि शाखाका इश्वर दर्लामी लगायत सहभागि भएको नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले बताउनु भयो । बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत पाँच लाख रुपैया भ्रमण गर्नका लागि विनियोजन गरिएको र सोही कार्यक्रम अन्र्तगत भ्रमणमा मेयरसाबको टोली निस्कनु भएको हो, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले बताउनु भयो । उहाँले भन्नु भयो“अन्य जिल्लाका नगरपालिकाहरुको सकरात्मक अभ्यास र अनुभव साटासाट गर्ने उदेश्यले मेयरसाबको संयोजकत्वमा विभिन्न जिल्ला भ्रमण गर्न टोलि गएको हो् ।” गत ५ गते भ्रमणमा निस्किएको टोलीको पाँच दिन भ्रमण गरि फर्कने कार्यक्रम रहेको नगरपालिकाका सुचना अधिकारी लामाको भनाई छ । उहाँका अनुसार दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट लगायतका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम तय भएको हो । भ्रमणमा मेयर आठ वडा वडाका वडाअध्यक्ष, पाँच जना कर्मचारी र तीन जना सवारी चालक सहभागि भएको भ्रमण टोलीले जनाएको छ । कोरोना भाइरस फैलदै गएको समयमा अन्य जिल्ला जान आवातजावतमा कडाई गर्ने तथा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउनुपर्ने स्थानिय सरकार प्रमुख स्वयम् नगरपालिकाको बजेट दुरुपयोग गर्दै भ्रमणमा निस्किएको स्थानियको आरोप छ । कोरोना भाइरसले महामारीको रुप लिदै गएको समयमा भ्रमण जानु उचित देखिएन, त्यसैले हामी केहि वडाअध्यक्षहरु भ्रमणमा गएका छैनौ, वडानम्बर ४ का वडाअध्यक्ष महेन्द्रप्रसाद ढकालले भन्नु भयो, “कोरोनाको कारण देशनै आर्थिक संकटमा परेका बेला जनताको करको दुरुपयोग गरेर मेयर आफैले नेतृत्व गरेर भ्रमणमा निस्कनु उचित थिएन ।” अन्य धेरै शिर्षकको बजेट कोरोनाको नाममा खर्च भएको देखाएको नगरपालिकाले भ्रमण गर्ने र सुविधा लिने कुनैपनि शिर्षकको बजेट नकटाएको र घुमेर बजेट दुरुपयोग गरेको स्थानियको आरोप छ । जनताको कामलाई समेत मेयर आफैले बेवास्ता गर्दै भ्रमणमा निस्किएको उनिहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया