सिन्धुलीमा बुधवार चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोनाकालागि जोखिमयुक्त जिल्ला सिन्धुली पनि हो । किनभने, भारतसँगको नजिकको दुरीका कारण सिन्धुली जिल्ला कोरोनाको जोखिममा छ । तराईलाई जोड्ने विपी राजमार्गपनि यसै जिल्लामा पर्दछ । तराईमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । यस अर्थपनि सिन्धुलीमा सावधानि नअपनाए आगामी दिनमा ठूलो समस्या देखिने निश्चित छ । जिल्लाका स्थानिय सरकार भने कोरोना भाइरसको जोखिम न्युनिकरणकालागि खासै चनाखो हुन सकेका छैनन् । सरोकारवाला निकायले बारम्बार कोरोनाको जोखिम जिल्लामा रहेको भनेर आवाज उठाउँदा समेत स्थानिय तह मौन बसेको अवस्था छ । अझ भन्ने हो भने, केहि स्थानिय तहका जनप्रतिनिधि त कोरोना कहरकैबिच देशदौडाहमा लागिपरेका छन् । बिना मास्क र न्युनतम सावधानि नअपनाई कोचाकोच एउटै गाडीमा कमलामाई नगरपालिकाका दर्जनौँ जनप्रतिनिधि घुमघाममा निस्केको अवस्था छ । जनप्रतिनिधिको घुमघाम मोहले नागरिकमा कस्तो संदेश जाला त्यो जिम्मेवार निकायले मनन् गर्न आवश्यक छ । त्यसैगरि, स्थानिय तहले अहिलेसम्म पनि कोरोना भाइरसबाट बच्नकालागि कुनै पनि निर्णायक निर्णय गर्न नसक्दा नागरिकमा त्रास थपिएको छ । तसर्थ, स्थानिय सरकारले छिटो भन्दा छिटो वार्तामा बसेर महत्वपुर्ण कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन ।
अहिलेपनि भारत पुगेर जिल्ला भित्रने क्रम घटेको छैन । व्यापारकालागि होस् वा घुमघामकालागि सिन्धुलीबाट भारत पुग्नेको संख्या ठूलै छ । युवापुस्ता लागुऔषध प्रयोगकालागि पनि भारत गइरहेका छन् । यी सबै गतिविधिप्रति स्थानिय सरकार मौन बसिरहेको छ । तसर्थ, स्थानिय तहले छलफल गरेर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । शैक्षिक संस्थामा कसरी जोखिम न्युनिकरण गर्ने, हाटबजार संचालन गर्न दिने कि नदिने लगायत न्युनतम सावधानि अपनाउ के कसरी नागरिकलाई सचेत गराउने भन्नेतर्फ स्थानिय सरकारले निक्र्यौल निकाल्न जरुरी छ । अतः देशका अन्य जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरणकालागि विभिन्न कदम चालिसकेको अवस्थामा सिन्धुलीका स्थानिय तहले पनि सोचिबुझि महत्वपुर्ण कदम चाल्नतर्फ विशेष प्राथमिकता दिन आवश्यक छ ।