सिन्धुलीको कमलामाई नगरपलिका ६ स्थित २ नं बजारको गैरिबजारमा सडक विस्तारकालागि भन्दै घर भत्काइएपनि काम भने हुन सकिरहेको छैन । मुख्य सडकमै बालुवा गिटि थुप्रिएपछि दुर्घट्नाकालागि जाल थापिए सरह भएको छ । सडक निर्माणाधिन अवस्थामा भएपछि निर्माणका सामाग्री थुप्रिनु सामान्य हो । तर, योजना एकदमै सुस्त गतिमा संचालन हुँदा धेरै समस्याहरु निम्तिएको छ । संकलन गरिएका गिटि, बालुवाले वातावरण प्रदुषण त गरेकै छ, त्यहिमाथि सडक दुर्घट्नाको जोखिम पनि बढाएको छ । धुवाँधुलोले गर्दा यस क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । पैदनयात्रीलाई हिँडने ठाउँ समेत छैन । बजार क्षेत्रमै सडकको कन्तबिजोग हुँदा समेत कमलामाई नगरपालिका र जनप्रतिनिधि मौन बस्दा स्थानिय आक्रोशित बनेको अवस्था छ । सडककै छेऊमा थुप्रिएको निर्माण सामाग्री प्रयोगमा आउन धेरै समय लागिरहेको छ । सडकमा सामान थुपारेर काम गर्ने निकाय भने सुस्त हुँदा समस्या बल्झिरहेको छ । तसर्थ, जनप्रतिनिधिले सडक विस्तारमा देखिएको समस्यालाई समाधान गर्नतर्फ विशेष जोड दिन आवश्यक छ ।
दैनिक जसो यहि सडकमा जनप्रतिनिधिहरु ओहोरदोहोर गरिरहन्छन् । सडकको दुरअवस्थाका बारेमा उनीहरु अन्जान छैनन् । तर, समस्यालाई देखेर पनि नदेखे जस्तो गर्ने जनप्रतिनिधिको रवैयाले गर्दा स्थानिय पिडित बनेका छन् । शनिबारे हाटकालागि यहि सडक हुदैँ कयौँ पैदल यात्री र सवारीसाधन गुड्ने गर्दछ । निर्माणका सामाग्री थुप्रिदा सडक साँघुरिएको छ । व्यवसायीहरु धुवाँधुलोका कारण व्यापार गर्न सकिरहेका छैनन् । स्थानियहरु सडकको दुरअवस्थाका कारण समस्या झेलिरहेका छन् । मुख्य सडकमै देखिएको समस्यालाई जनप्रतिनिधिले नजरअन्दाज गर्दिदा भित्रि गाउँहरुको अवस्था के होला भन्ने प्रश्न उठ्छ । तसर्थ, सम्बन्धित निकायले यस क्षेत्रमा देखिएको चरम समस्याको समाधान गर्नतर्फ विशेष पहल गर्न जरुरी छ । अन्यथा, आक्रोशित स्थानियले कुनै नराम्रो कदम नचाल्लान् भन्न सकिन्न । अतः गैरिबजारमा सडक विस्तारको कामलाई तिव्रता दिन जिम्मेवार निकायले खबरदारी गर्न जरुरी छ ।