सिन्धुली – राष्ट्रिय गौरबको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौडा–सिन्धुली–चतरा(मदन भण्डारी राजमार्ग) को रुट सिन्धुली सरमुकाम स्थित ६ किलोमिटर सडकको निर्माण कार्य अझै अन्यौल रहेको छ ।
तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका–६ को धुराबजार हुदै मिलन चोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्सांकन तथा विस्तृत अध्ययन प्रतिवेदन तयार भई ठेक्का लागेको भएपनि यहाँका केहि राजनीतिक दलहरुको दबाबमा नक्साङ परिवर्तन गर्ने कोसीस भएपछि अन्यौलता कायम भएको हो ।
डिपिआर तयार भई ठेक्का लागेको रुटको धुराबजार क्षेत्रका केहि घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भन्दै त्यसक्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरि अन्यत्र डाइभर्ट गर्न यहाँका केहि राजनीतिक दल तथा केहि जनप्रतिनिधिहरुले आयोजनालाई दबाब दिएपछि राजमार्ग निर्माणको काम बर्षौदेखि अन्यौल बनेको छ ।
मदनभण्डारी राजमार्गको पश्चिम खण्डमा पर्ने धुराबजार देखि खट्टारसम्म विवाद भई सडक निर्माण नभएपछि धुराबजार बाहेक सो रुटमा पर्ने स्थानियले तत्काल सडक निर्माण गर्न दबाब दिएका छन् । सिन्धुली सदरमुकामबाहेक यस खण्डको काम ९७ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
बाटो निर्माण कार्य रोक्न स्थानियको कि अवरोध चाहियो, होइन भने माथिको आदेश केहि हुनु प¥यो ! बिना काारण सडक निर्माण रोकेर प्रशासनले गैर जिम्मेवार काम गरेको सो क्षेत्रका स्थानियको आरोप छ । नक्सांकन भएकै स्थानबाट सडक निर्माण गर्न भन्दै स्थानिय बासिनदाले जिल्ला प्रशासन सहित सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको कमलामाई नगरपालिका–५ का बासिन्दा भक्तहरि घिमिरेले बताउनुभयो ।
केहि जनप्रतिनिधिहरुले बीपी राजमार्गको तत्कालिन हाज्माको २ नं. गेटहुदै कुमाल फाँट(आर्दश टोल) साङवाले हुदै खट्टार जोड्ने गरि सडक निर्माण गर्न पहल गरेपनि त्यस क्षेत्रका स्थानियले खेतीयोग्य जग्गा मास्न नदिने बताउदै आएका छन् । नक्साङकन भएकै स्थानबाट डिपिआर तयार भई सडक निर्माणको ठेक्का लागेपछि बनेका अधिकांश घरहरु सडकको मापदण्डलाई छोडेरै बनाएकाले राजमार्गको रुट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्थानियको बुझाई छ ।
कमलामाई नगरपालिकाले पनि सडक नक्संकन भएकै स्थानबाट सेटब्याक नराखेर दाया १० बाया १० मिटर गरि कुल २० मिटर चौडा भएको सडक निर्माण गर्न सहयोग गर्ने निर्णय गरेको स्थानिय माणिक ढकालले बताउनुभयो । “धुराबजारबाट राजमार्ग निर्माण गर्दा केहि घरहरु क्षति हुने देखिन्छ, त्यसैले परिवर्तन गर्न पहल गरेका हौ,’ बाग्मती प्रदेश सदस्य बिनोद खड्काले भन्नुभयो, ‘हेटौडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा धुरा क्षेत्रमा क्षति हुने भएकाले विकल्पको खोजी हुनु स्वाभाविकै थियो हामी उचित निर्णय गरेर राजमार्ग निर्माण गर्न अनुरोध गर्छौ ।”
डिपिआर भई ठेक्का लागि सकेको र मिलनचोकस्थित लब्दाहा खोलामा राजमार्गकै पुल समेत बनेको अवस्थामा परिवर्तन गर्ने भन्दै जनप्रतिनिधिहरुले बखेडा निकालेको स्थानियको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले राजमार्ग निर्माण गर्नका लागि छलफल सुरु भएको बताउनुभयो । “आयोजना प्रमुख भर्खरै सरुवा भइ आउनुभएको छ,” उहाँले भन्नुभयो, “हामी छिट्टै राजमार्ग निर्माणका लागि पहल गर्छौ ।”
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ भने पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।