सिन्धुलीमा राष्ट्रिय गौरवको आयोजनाको केहि प्रतिशत काममा सहमति जुट्न नसक्दा आयोजना सम्पन्न हुन सकिरहेको छैन । मदन भण्डारी राजमार्गको सिन्धुली खण्डको ६ प्रतिशत काममा अवरोध हुँदा अन्योलता बढिरहेको छ । हेटौँडा–सिन्धुली–चतरा को रुट अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका ६ स्थित धुराबजारबाट निर्माण हुने राजमार्गमा जिल्लाका केहि नेताहरुले असहमति जनाएपछि राष्ट्रिय गौरवको आयोजना सम्पन्न हुन समय लाग्ने भएको छ । धुराबजारका केहि घरहरुमा क्षति पुग्ने भएपछि स्थानिय लगायत दलका नेताहरुले काममा बाधा पुर्याइरहेका छन् । तीनै नेता तथा सरोकारवाला निकाय वैकल्पिक रुट खोज्न भने अग्रसर देखिएका छैनन् । अवरोध सिर्जना गर्ने, समाधानको बाटो नखोज्ने, स्थानियलाई उचाल्ने लगायत आयोजनामा कुनै सहयोग गर्न नखोज्ने सरोकारवाल निकायको कदम नाजायज छ । राजमार्ग निर्माणलाई तिव्रता दिन सहमति गर्नतर्फ बढि केन्द्रित हुनुपर्नेमा अन्यौलता सिर्जना गर्नु विकास विरोधि कदम हो । तसर्थ, केहि व्यक्तिलाई मात्र मुख्य प्राथमिकतामा राखेर राजमार्ग निर्माणमा बाधा पु¥याउनतर्फ कुनै पनि दलका नेता तथा सरोकारवाला निकाय लाग्नुहुदैँन । जिल्लाका जनप्रतिनिधिले राजमार्ग निर्माणमा देखिएको समस्यालाई समाधान गर्न सहमतिको माध्यमबाट अघि बढ्न जरुरी छ ।
प्रधानमन्त्री स्वयंले पनि मदन भण्डारी राजमार्ग निर्माणमा सिन्धुलीको क्षेत्रमा देखिएको असमतिका बारेमा चिन्ता व्यक्त गरिसक्नुभएको छ । जिल्लामा देखिएको यो समस्यालाई हल गर्न जनप्रतिनिधि, प्रशासन लगायत सम्बन्धित निकायले गम्भिर भएर गृहकार्य गर्न आवश्यक छ । प्रभावित घरधुरीलाई कसरी सहमतिमा ल्याउने र उनीहरुलाई कसरी राज्यबाट सहयोग जुटाउने भन्नेतर्फ जिम्मेवार निकायको ध्यान जानुपर्दछ । अवरोध सिर्जना गरेर एक पक्षलाई उचाल्दै बकमफुसे राजनिति गर्दा नागरिकले त्यसको प्रतिउत्तर आगामी दिनमा दिनेछन् । तसर्थ, राजमार्ग निर्माणकालागि बाटो खुलाउन जिल्लाका सरोकारवाला निकायले कार्यकुशलता देखाउन जरुरी छ । अतः राष्ट्रिय गौरवको आयोजना सिन्धुलीमा आएर नअड्काउन र समय खेर जान नदिन सम्बन्धित सबै पक्ष गम्भिर भएर लाग्नुपर्छ ।