दुधौली नगरपालिका १ मा कोभिड १९ बाट प्रभावित घरधुरीहरुलाई सामाजिक आर्थिक पुर्नलाभ परियोजना अन्तर्गत गरिएको मकै खेती ।
सिन्धुली,०६ बैशाख – दुधौली नगरपालिकाका विभिन्न वडामा कोभिड १९ बाट प्रभावित घरधुरीहरुलाई सामाजिक आर्थिक पुर्नलाभ परियोजना अन्तर्गत कृषकले सञ्चालन गरेको आयआर्जन कामको अनुगमन गरिएको छ ।
दुधौली नगरपालिका र यूएनडिपिको सहयोगमा सञ्चालीत परियोजनाको अनुगमन कार्यमा यूएनडिपिका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अनुगमनमा दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, परियोजना सञ्चालन भएको वडाका अध्यक्षहरु गोविन्द पहाडी, रितेश राउत, दुर्गाबहादुर देवकोटा, यूएनडिपिका विजयप्रसाद सिंह र बिपुल झा, सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारी लगायत सस्थाका पदाधिकारीले स्थलगत अनुगमन गर्नुभएको हो ।
उहाँहरुले खेतबारीमा नै पुगेर किसानले गरेको मकै खेती, आलु खेती र तरकारी खेती नियाल्नु भएको हो । अनुगमनमा सहभागिहरुले आलु खेती, मकै खेती, च्याउ खेती अन्य तरकारी खेती, टर्की र कडकनाथ कुखुरा पालन व्यवसाय, लगायतको अनुगमन तथा निरीक्षण गरेका थिए । वडा नं. १ मा मकै खेती गरेका कृषकहरु, वडा नं. २ मा आलु खेति, वडा नं. १० मा च्याउ खेती गरेका कृषकहरु र वडा नं. ९ मा रहेको त्रिशक्ती डेरी उद्योगमा अनुगमनमा सहभागिले किसानसँग अन्तरक्रृया गरेको थिए ।
अन्तरक्रृया कार्यक्रममा नगरपालिका मेयर घनश्याम राउतले स्थानिय सरकारले सतप्रतिशत लगानी गर्नु पर्ने भएपनि युएनडिपिसगँ मिलेर पचास प्रतिशत लगानी गर्नु परेको र पचास प्रतिशत लगानी युएनडिपिको हुनु नै नगरको लागि अवसर रहेको बताउनु भएको थियो । नगर प्रमुख राउतले नगरपालिकाका नागरिकको आयआर्जनका लागि युएनडिपिसगँ जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताउनु भएको थियो ।
यस्तै अनुगमनमा सहभागि नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष रितेश राउतले परियोजना सञ्चालन गर्दा कृषकहरुको गुनासो नआएकाले यस परियोजनालाई स्थानिय सरकारसगँ मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधि युएनडिपि र सहकार्य नेपालसगँ मिलेर अघि बढ्न तयार छौँ ।”
अन्तरक्रृया कार्यक्रममा यूएनडिपिका एआर विजयप्रसाद सिंहले दुधौली नगरपालिकासगँ मिलेर प्रोजेक्ट गर्दा राम्रो नतिजा आएकाले आफू खुशी भएको बताउनु भएको थियो । कृषकहरु धेरै मिहेनती रहेको आफुले पाएको उहाँले सुनाउनुभयो ।
सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाका वडा नं. १, २, ३, ६, ८ र १० मा यो बर्ष उक्त परियोजना सञ्चालन गरि रहेको छ । उक्त परियोजना संञ्चालन भएपछि त्यहाँका स्थानिय विपन्न कृषकलाई आयआर्जनमा टेवा पुगेको बताउछन् । परियोजना अन्तर्गत ४५८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका उक्त संस्थाले जनाएको छ ।
परियोजना मार्फत दुधौलीका किसानहरु व्यवसायिक रुपमा खेति तथा अन्य गतिविधिहरुमा संलग्न भएका छन् । परियोजना यस स्थानमा आए सगै आयआर्जनमा पनि टेवा पुगेको कृषकले बताएका छन् ।
कृषकहरु कोभिडको चपेटामा पर्दा यो परियोजनाले धेरै सहज बनाएको च्याउ खेती गर्दै आउनु भएकी दुधौली नगरपालिका ९ कि कृषक चाहना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“‘बाहिर काम गर्न जानु भन्दा यहि आफ्नो गाउँठाउँमा गर्दा हुने रहेछ भन्ने पाठ यो परियोजनाले सिकाएको छ ।”
“बल्ल आयआर्जनको पाठ सिक्न थालेका छौं,” उहाँले भन्नुभयो, “९ महिना मात्रै परियोजनाका साथ पाउदा धेरै सिक्ने अवसर पाएका छौं । बीचमा नै दुधे बालकलाई छाड्नु हुन्न भन्ने विश्वास लागेको छ ।” अनुगमनका क्रममा सहकार्य नेपालको तर्फबाट सस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कार्कीले कोभिड १९ बाट प्रभावित घरधुरीहरुलाई सामाजिक आर्थिक पुर्नलाभ परियोजनाको अवस्थाको वारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।