शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढीमा स्व. गायक कृष्णविक्रम थापाको शालिक बन्दै

सोमवार , बैशाख ६, २०७८

सिन्धुली,०६ बैशाख – सिन्धुलीगढीमा स्वर्गीय गायक कृष्णविक्रम थापाको पूर्ण कदको शालिक बन्ने भएको छ । “सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार” भन्ने लोक गीतका माध्यमबाट जिल्लालाई देशविदेशमा चिनाउन सफल सिन्धुलीका लोकगायक स्वर्गीय थापालाई ढिलै भएपनि कमलामाई नगरले सम्मान गर्ने आँट देखाएको छ ।

स्वर्गीय गायक थापाको शालिक बनाउन नगरलाई यहाँका बुद्धिजीवी र नागरिक समाजले पटकपटक सुझाव दिएका थिए । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले थापाको शालिक बनाउने बाचा पुरा गर्ने हुने भएको छ ।

कमलामाइ नगरले थापाको पूर्ण कदको शालिक बनाउन भन्दै ठेक्काको सूचना निकालेको छ । सूचना अनुसार अनुमानित १२ लाख ५० हजार स्टमेट भित्र उक्त शालिक बन्नेछ । वैशाख ४ गते प्रकाशित सूचना अनुसार अबको १५ दिनभित्र इबिडिङ मार्फत देशभरका कालीगढले उक्त शालिक बनाउने टेन्डरमा भाग लिन सक्नेछन ।

सिन्धुली जिल्लाको तत्कालीन रतनचुरा गाबिसमा जन्मिनु भएका लोकगायक कृष्ण बिक्रमको निधन भने काठमाडौंमा भएको थियो । थापाले लोक गीतको माध्यमबाट सिन्धुलीलाई चिनाउने काम गरेको स्थानीय अहिले पनि गर्भसाथ सुनाउँछन ।

स्थानीयका अनुसार जीवनको पछिल्लो समयमा झाडापखालाको रोगबाट पीडित थापाको वीर अस्पतालमा उपचारका क्रममा स्वर्गबास भएको थियो । थापा जन्मेको रतनचुरा तत्कालीन समयमा सिन्धुली जिल्लाको बिकट गाउँ भनेर चिनिन्थ्यो । जिल्लाकै पिछडिएको ठाउँमा जन्मेर पनि थापाले लोक गीतको माध्यमबाट सुगम ठाउँमा जन्मेका मानिसले भन्दा बढी योगदान दिनु गर्वको विषय हो ।

२०३६ सालमा थापाले रेडियो नेपालमा रेकर्ड गराउनु भएको पहिलो गीत “सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माइ कति न राम्रो दरबार” अझै पनि उत्तिकै चर्चित छ ।

स्वर्गीय गायक थापाले गाएको ‘सुन्तली माइ’ गीतको माध्यमबाट सिन्धुली जिल्ला र ऐतिहासिक सिन्धुलीगढीलाई नेपाल र विश्वभर चिनाउन सहयोग पुगेको धेरैको बुझाइ छ ।

थापाले तोरी लाहुरे, खैजेडी भजन, नेपाल रिमझिम जस्ता थुप्रै चर्चित एल्बमहरु पनि बजारमा ल्याउनु भएकोथियो । जानकारहरुका अनुसार जिल्लालाई सबैसामु चिनाउन अतुलनीय योगदान गरेका थापाको आफ्नो जीवनस्तर भने त्यतिीमाथि उठेको पाइँदैन ।

सिन्धुलीलाई मात्रै होइन नेपाली लोक गीतलाई समेत उकास्न थापाले गरेको योगदान सम्झन लायक छ । सिन्धुली गढीमा स्वर्गीय थापाको पूर्ण कदको शालिक बनेपछि सुन्तलीमाइ र कृष्ण बिक्रम थापालाइ स्थानीयले सधैभरी सम्झने छन् ।

प्रतिक्रिया