दुधौली(सिन्धुली) – दुधौली नगरपालिका–९ निवासी कृषक रामप्रसाद दनुवारलाई अहिले कमलाखुँजको फाटमा लहलह तोरी झुलेको देख्दा मन भित्रैबाट इष्र्या जागेर आउछ । कुनै दिन आफ्नो खेतमा यसैगरि तोरी झुलेको उहाँ झलझली सम्झनुहुन्छ ।
आफ्नो भएको दुई विघा खेत २०५० सालमा आएको बाढीले सबै बगाई सुकुम्बासी बनाएपछि अहिले कमलाखुँज क्षेत्रमा अर्काको खेतमा लहलह झुलेको तोरी बारी हेरेरे बस्नु परेको उहाँको गुनासो छ ।
कृषक रामप्रसाद अहिले नदी कटानबाट जोगिएको अर्काको खेतमा बनबुतो गरि १२ जनाको परिवारको जीवन निर्वाह गर्दै आउनुभएको छ । “आफ्नो भएको सबै दुई बिगाहा खेत अहिले बगरमा परिणत बनेको छ” उहाँले भन्नुभयो ।
स्थानीय कृषकहरुका अनुसार कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमी कटान गरेपछि सयौं भूमिपति कृषक अहिले सुकुम्बासी बनेका र तोरी उत्पादन पनि घट्दै जान थालेको छ ।
नदीको कटानबाट बर्सेनि कमलाखुँज क्षेत्रका हत्पते, रानीबास, निपाने, हर्षाही, टाँडी, दुधौली, सिर्थौली र कमलामाई नगरपालिकाका वडा नं. ९, १०, १३ र १४ नम्बर वडाका कृषकहरु प्रभावित हुदै आएका दुधौली नगरपालिका–१ का सचिब हेरम्बराज अधिकारी बताउनुहुन्छ ।
वडा सचिब अधिकारी कमला नदी कटानको समस्या बढ्दो रुपमा देखा परेको दुई दशकभन्दा बढी भएपनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा तोरी खेतीसहित अन्य खाद्यान्न बाली उत्पादन प्रभावित बनेको बताउनुहुन्छ ।
उहाँका अनुसार कमला नदीले कमलाखुँज क्षेत्रमा झण्डै एक हजार परिवारको खेत बगाएर सुकुम्बासी बनाएपछि उनीहरुको अवस्था दयनिय बनेको छ । तोरी खेतीका लागि पनि लोकप्रिय रहेको कमलाखुँज क्षेत्रका उर्बर खेत सबै कमला नदीको बाढीले बगाएर बगरमा परिणत गराएपछि तोरी उत्पादन पनि घट्दै गएको छ ।
दुधौली नगरपालिका–६ हर्षाही निवासी कृषक दुर्गाबहादुर घिसिङ् कमला नदीमा आएको बाढीले आफ्नो सात कठ्ठा खेत बगाएपछि तोरी खेती गर्ने जग्गा अभाव भएको बताउनुहुन्छ । कमला नदीको कटानलाई नियन्त्रण गरि उर्बर जमिनलाई नबचाउने हो भने कमलाखुँज क्षेत्रमा हुने तोरी खेती कुनै बेला कल्पनामा नै सिमित हुन बेर नलाग्ने उहाँको भनाइ छ ।
दुधौली नगरपालिका–१ बंका निवासी कृषक थानराज अधिकारी १९÷२० बर्ष पहिलेसम्म कमलाखुँज क्षेत्रबाट ठूलो परिमाणमा तोरी बाहिर निकासी हुने गरेकोमा अहिले त्यो क्रम रोकिएर उपभोगका लागि पनि बाहिरबाट ल्याईने पाकेटको तेल पसलमा खरिद गर्नु पर्ने बाध्यता बनेको बताउनुहन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार त्यसो त सिन्धुली जिल्लामा बर्षेनी पाँच हजार हेक्टर भन्दाबढी जमिनमा तोरी खेती(तेलहन बाली ) हुदै आएको पछिल्लो पाँच बर्षको तथ्याङकले देखाएको छ । गत वर्ष पाँच हजार ७१७ हेक्टर जमिनमा तोरी खेती हुदाँ पाँच हजार ३७३ मेट्रिक्टन उत्पादन भएको थियो । माटोमा भएको प्राङगारिक पदार्थ घट्दै गएकोले समग्र रुपमा तोरी खेतीको बिस्तार देखिए पनि उत्पादन भने घट्दो अवस्थामा रहेको कार्यालयका कृषि प्राविधिकहरु बताउछन् । तोरी खेतीको उत्पादन बढाउन माटोको खाद्य तत्व उत्पादन बढाउनु पर्ने उनीहरुको भनाई पाईन्छ ।