सिन्धुलीको धार्मिक तथा पर्यटकिय स्थल पञ्चकन्या पोखरी
सिन्धुली, – सिन्धुली जिल्लामा ऐतिहासिक तथा धार्मिक स्थलमा मानिसको चहलपहल बढ्न सुरु गरेको छ ।
जिल्लामा पर्यटक गन्तव्यका रुपमा रहेका सिन्धुलीगढी, पञ्चकन्या पोखरी, कमलामाई मन्दिर, कुशेश्वर महादेव, हरिहरपुरगढी लगायतका ठाँउमा चहलपहल बढ्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । सिन्धुलीगढीमा पिकनिक खान र घुम्न आउने आन्तरिक तथा बाहिय पर्यटक बढ्दै गएका स्थानीय खिलराज सिग्देलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिन्धुलीगढीमा मानिसका चहलपहल बढेसँग सोलाभज्याङमा रहेका होटल व्यवसाय पनि फस्टाउदै गएका छन् ।” सिन्धुलीगढीमा पूर्वाधार विकाससँगै सिन्धुलीकै विभिन्न ठाँउ, तराईका जिल्ला र भारतीय नागरिक घुम्न आउने गरेको उहाँले सुनाउनुभयो ।
कमलामाई नगरपालिकाले सिन्धुलीगढी, कमलामाई मन्दिर, सिद्धबाबा मन्दिर, रानीचुरी, कालिमाई मन्दिरलाई पर्यटक गन्तव्य सूचीमा राखेको जनाएको छ ।
त्यस्तै मरिण गाँउपालिकाले पनि प्रमुख पर्यटकिय गन्तव्यको रुपमा वडा नं. ५ मा रहेको ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या पोखरीलाई अघि सारेको छ । गाँउपालिकाको आर्थिक सहयोगमा पर्यटन पुर्वाधार निर्माण गरि उक्त पोखरीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न सुरु गरिएको गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाकै एक मात्र उक्त प्राकृतिक पोखरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी गाँउपालिकाको प्रमुख आम्दानीको स्रोत बनाउने र जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।
प्राय सँधै सुनसान जस्तै रहने पञ्चकन्या पोखरीमा पूर्वाधार निर्माणसँगै पिकनिक खान आउने र दैनिकजसो कम्तिमा पनि एक सय जना आन्तरिक पर्यटक नै घुम्न आउन थालेको गाँउपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय तह गठन भई जनप्रतिनिधि आएपछि पञ्चकन्या पोखरीको विकासका लागि गुरु योजना बनाई काम सुरु गरिएको छ । अहिलेसम्म ७० लाख रुपियाँ खर्च गरी कम्पाउण् वाल, मैदान सम्याउने काम, प्रतिक्षालय निर्माण, सौचालय निर्माण र खानेपानी योजना निर्माण लगायतका काम भएको छ ।