शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको चार ठाँउमा स्थानीय तह जनगणना कार्यालय स्थापना

शनिवार , बैशाख ४, २०७८

सिन्धुली,४ बैशाख – राष्ट्रिय जनगणना २०७८ को कार्य सम्पादनलाई प्रभावकारी बनाउन सिन्धुली जिल्लाको चार वटा स्थानीय तहमा तीन महिनाका लागि ‘स्थानीय तह जनगणना कार्यालय’ स्थापना गरिएको छ ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित सुरु हुन लागेको १२ औं राष्ट्रिय जनगणना २०७८ को कार्य सम्पादन गर्न कमलामाई नगरपालिका, मरिण गाँउपालिका, गोलन्जोर गाँउपालिका र दुधौली नगरपालिकामा बैशाख १ गतेदेखि उक्त कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा हरिहरपुरगढी र मरिण गाँउपालिकाको लागि मरिणमा, सुनकोसी, गोलन्जोर र फिक्कल गाँउपालिकाको लागि गोलन्जोरको ग्वाल्टारमा, कमलामाई नगरपालिका, तीनपाट गाँउपालिका र घ्याङलेख गाँउपालिकाको लागि सदरमुकाम सिन्धुलीमाढीमा र दुधौली नगरपालिकाको लागि दुधौलीमा स्थानीय तह जनगणना कार्यालय स्थापना गरिएको हो । सङघियता पश्चात पहिलो जनगणना आगामी बैशाख २६ गतेबाट सुरु हुने भएपछि सदरमुकाम सिन्धुलीमाढीमा चैत १ गतेदेखि नै जिल्ला जनगणना कार्यालय स्थापना भई सकेको छ । जिल्ला तथ्याङक कार्यालयसँगै रहेन गरी जिल्ला जनगणनाको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला जनगणना अधिकारी तथा तथ्याङक कार्यालय सिन्धुलीका प्रमुख टिकाप्रसाद नेपालले कार्यालय स्थापनासँगै अहिले उक्त जनगणना सञ्चालनका लागि विभिन्न तयारी भई रहेको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने गणक तथा सुपरभाईजर छनौट गर्ने क्रममा रहेको बताउनुभयो । पछिल्लो २०६८ सालको राष्ट्रिय जनगणना अनुसार सिन्धुली जिल्लामा दुई लाख ९६ हजार १९२ जनसंख्या रहेको उक्त कार्यालयले जनाएको छ ।

जिल्ला जनगणना अधिकारी नेपालका अनुसार आगामी बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म प्रत्येक घरमा पुगेर सुपरभाईजर मार्फत घर तथा घर परिवारको मुख्य बिबरणको सूचिकरण गरिने छ । त्यसपछि गणकहरुले जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणनामा समाबेस गरिएका विभिन्न प्रश्नावलीसहित घर घरमा पुगेर विभिन्न बिषयको तथ्यांक संकलन गर्ने छन् ।

प्रतिक्रिया