सिन्धुली – जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)द्वार डकर्मीहरुका लागि सञ्चालीत तीन दिने ‘सबैका लागि पहुँच युक्त घर’ निर्माण सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।
सिन्धुलीका सबै स्थानीय तहमा रहेका घुम्ती डकर्मीहरुलाई अपांगत्ता भएका भुकम्प पीडित लाभग्राहीहरुको लागि उपयुक्त नीजि आवास कसरी निर्माण गर्ने भन्ने सिप प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)ले जनाएको छ ।
उक्त कार्यालयका अनुसार तालिम सैद्धान्तिक र प्रयोगात्मक दुबै किसिमले सञ्चालन गरिएको थियो । अपांगत्ता भएका घरको स्थलगत निरीक्षण गरि उक्त घरलाई अपांगमैत्री बनाउनका लागि गर्नु पर्ने सुधारका कार्यहरुको पहिचान समेत गरिएको कार्यालयका सूचना अधिकारी हेम कार्कीले जानकारी दिनुभयो ।
उहाँको अनुसार केन्द्रको सहमतिपछि अपांगत्ता लाभग्राहीहरुको घरलाई पहुँच युक्त बनाउनको लागि जिल्ला आयोजनाले आबश्यक सहायता (सामाजिक, आर्थिक र प्राबिधिक ) उपलब्ध गराउने रहेको छ । तालिममा ५१ जना घुम्ति डकर्मीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई ईन्जिनियर पुजनराज श्रेष्ठ र मिलन लिम्बुले सहजिकरण गर्नु भएको थियो ।
तालिममा सहभागि डकर्मिहरुलाई कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसअघि ईन्जिनियरहरुका लागि सोहि किसिमको तीन दिने तालिम आयोजना गरिएको थियो । उक्त तालिममा सिन्धुलीका पाँच जना र ओखलढुंगाका आठ जना गरी १३ जना ईन्जिनियरहरुको सहभागिता रहेको कार्यालयले जनाएको छ ।