सिन्धुलीमा पछिल्लो समय पोल्ट्री व्यवसायमा ठूलो संख्यामा कृषक लागीपरेका छन् । पोल्ट्री व्यवसायले रोजगारीको अवसर मात्र सिर्जना गरेको छैन, जिल्लाका कृषकलाई गतिलो आम्दानीको श्रोत पनि बन्दै गएको छ । ब्रोइलर तथा लोकल कुखुरा पालन गर्न कृषकहरु आकर्षित भएका छन् । विशेषगरि, ब्रोइलर कुखुरा पाल्न सजिलो र छाटो समयमै परिणाम देखिने हुँदा कृषकहरु ब्रोइलर कुखुरा पालन गर्नतर्फ बढि सक्रिय छन् । तर, उचित परामर्श र सुविधा नपाउँदा धेरैजसो कृषकहरुले आफ्नो लगानी डुबाएको अवस्था छ ।
कृषक चल्ला खरिद गर्नेबेला नै ठगिन्छन् । काठमाडौँ भन्दा १० देखि २० रुपैँया बढि महंगोमा जिल्लामा चल्ला बिक्रि हुने गरेको छ । त्यसैगरि, दाना, औषधि र कुखुरा पालन गर्दा प्रयोग हुने सामाग्रीको रेट पनि जिल्लामा महंगो छ । कुखुरा उत्पादन भएपछि कृषकले पाउने रेट भने सस्तो छ । कृषकले कुखुरा ढुवानि गर्दा समेत महंगो शुल्क तिर्नुपरेको अवस्था छ । समग्रमा, कृषक जताबाट पनि ठगिएका छन् भने विक्रेता लाभान्वित भइरहेको अवस्था छ । तसर्थ, पोल्ट्री व्यवसायलाई थप सुरक्षित बनाइराख्न कृषक मारमा पर्ने समस्याको समाधान गर्न सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ । अतः पोल्ट्री व्यवसायको अनुगमन गर्न जिम्मेवार निकायले चासो देखाउन जरुरी छ ।