सिन्धुली अस्पतालमा निर्माणको काम धमाधम संचालन भइरहेको छ । सुविधासम्पन्न तीन तले अस्पताल भवन निर्माणकालागि कामहरु भइरहेको छ । यता, निर्माणको काम भइरहदा बिरामीले अस्पतालबाट गुणस्तरीय सेवा नपाएको गुनासो गरिरहेका छन् । पहिलेको भवन भत्काएर नयाँ भवन निर्माण गर्दा सेवा कहाँबाट लिने भनेर सेवाग्राही दुविधामा पर्ने गरेका छन् । त्यसैगरि, धुवाधुलोँ र प्रदुषणका कारण अस्पताल प्रांगण अव्यवस्थित बनेको छ । अस्पतालका डाक्टरहरुलाई समेत बस्नकालागि समस्या परेको गुनासो आइरहेको छ । पानी देखि अन्य सुविधा नहुँदा डाक्टरहरुले हैरान मानेको अवस्था छ । तसर्थ, व्यवस्थापन समितिले थप सक्रिय भएर काम गर्न जरुरी छ । जिल्ला अस्पतालको व्यवस्थापन पक्ष कसरी मजबुत बनाउने भन्नेतर्फ समितिले जोड दिन आवश्यक छ । अस्पताल पुर्ण रुपमा निर्माण सम्पन्न हुनकालागि अझै एक वर्ष बढि लाग्नेछ । यतिका अवधिसम्म सेवाग्राही र डाक्टरहरुले दुख पाउनु हुदैँन । त्यसैले, कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरि आवश्यक कदम चाल्न जिम्मेवार निकाय थप चनाखो हुनुपर्दछ ।
शल्यक्रियाकालागि एक ठाउँबाट अर्को ठाउँ जानुपर्ने हुँदा बिरामीलाई संक्रमण हुने समस्या हुन्छ । त्यसैगरि, उपचारकालागि डाक्टरको परामर्श लिन पनि सेवाग्राही अन्यौलमा परेको अवस्था छ । यी सबै पक्षलाई मध्यनजर गरेर व्यवस्थापन समितिले समाधान गर्नतर्फ अग्रसर हुनुपर्दछ । अतः वर्तमान अवस्थामा भ्रदगोल रहेको अस्पतालबाट गुणस्तरीय सेवा दिन व्यवस्थापन पक्षलाई थप चुस्त बनाउन जरुरी छ ।