बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जनप्रतिनिधिको ज्ञान बढाऊ

शुक्रवार , चैत्र २७, २०७७

सिन्धुलीको स्थानिय तहमा जनप्रतिनिधिहरुले आफ्नो कर्तव्य के हो भनेर थाहा नपाउँदा जनताले पर्याप्त सुविधा पाउन सकिरहेका छैनन् । सिन्धुलीमा मात्र नभएर देशभरका केहि जनप्रतिनिधिहरु आफ्नो कर्तव्यप्रति अनविज्ञ छन् । देशमा संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार पुगेपनि जनताद्वारा निर्वाचित प्रतिनिधिहरुसँग पर्याप्त ज्ञान नहुँदा शक्तिको दुरुपयोग भइरहेको छ । वर्तमानको राज्य व्यवस्थालाई सफलतापुर्वक कार्यान्वयन गर्ने हो भने विकासकालागि नागरिकले धेरै समय कुर्नुपर्दैन । तर, जनप्रतिनिधिहरुमा देखिएको कमजोरिका कारण संघियतानै धरापमा परिरहेको अवस्था छ । राज्यको सुविधा गाउँगाउँबाट लिन सक्ने व्यवस्था भएपनि जनप्रतिनिधिले आफ्नो कार्यकौशलता देखाउन सकिरहेका छैनन् । जनताको प्रतिनिधि र राज्यको प्रतिनिधिबिच तालमेल नहुँदा कतै सरकारी कर्मचारीले अनियमितता गरेका छन् त कतै दुवै मिलि कानुन विपरित काम भइरहेको छ । यतिमात्र नभएर स्थानिय तहमा संचालित केन्द्रिय सरकारको कार्यक्रम लगायत अन्य नागरिककालागि बनाइएको कार्यक्रमहरु नै असफल हुदैँ गएको छ । जनप्रतिनिधिहरु अध्ययनशिल हुन नसक्दा नागरिकले दुख पाएको अवस्था पनि छ । त्यसैगरि, राज्यको करोडौँ रकम फजुलमा खर्च भएको छ । तसर्थ, जनप्रतिनिधिलाई थप सक्षम बनाउनकालागि केन्द्रिय सरकारले बृहत कार्यक्रमहरु ल्याउन जरुरी छ । जनप्रतिनिधिहरुलाई के कसरी कार्यसम्पादन गर्ने देखि लिएर निति निर्माणमा उनीहरुको भुमिकाको बारेमा पर्याप्त ज्ञान दिन सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ ।

जिल्लामा केहि जनप्रतिनिधिहरुको कार्यशैलिले गर्दा राज्यको शक्ति दुरुपयोग भइरहेको छ । विकास निर्माणको काम सुस्त गतिमा संचालन हुनुका साथै अराजकता र अनियमितता बढ्दै गएको छ । तसर्थ, जनप्रतिनिधिलाई सक्षम बनाउनतर्फ नागरिक समाज लगायत सरोकारवाला निकायले आवश्यक गृहकार्य गर्न ढिलाई गर्नुहुदैँन । अतः जनप्रतिनिधिलाई उनीहरुको काम, कर्तव्य, अधिकार र संविधानका बारेमा पर्याप्त ज्ञान बाढ्ने कार्यक्रमहरु ल्याउन जरुरी छ ।

प्रतिक्रिया