सिन्धुली– मरिण गाउँपालिकाकी १० बर्षिय सम्झना घलानको आफन्त भन्ने नै कोही छैनन् । जन्म दिने आमाबुवा बाढी पहिरो र भुकम्पमा परेर वितेपछि भएकै आफन्तले पनि चिनेनन् ।
खोटाङकी सारा राई, अहिले १२ बर्षकी भईन् । उनकी आमा घाँटीमा क्यानसर भएर वितिन् । आफ्नी आमा वितेको बर्ष दिन नबित्दै बुबाले अर्की आमा घरमा भित्र्याउनु भयो । तर साराले बस्दै आएको घर वालापनमा नै छोड्नु पर्यो । आमाबुबाको माया, ममता र गाउँका साथिहरुबाट टाडिन पर्यो ।
यस्तै कृष्ण वि.क, अहिले १२ बर्षका भए । उनको बुबा बस दुर्घट्नामा परेर विते । आमाले उनलाई छोडेर नयाँ घरजम गरिन् । कृष्ण बालखैमा आफन्तबाट अपहेलित हुनुपर्यो । अहिले सम्झना, सारा र कृष्ण सहित १० जना बालबालिका सिन्धुलीको दुधौली नगरपालिका–१०, कोगटीस्थित जनमुखी कल्याणकारी नेपालद्धारा संचालित कमलाखोंज बाल गृहमा बस्छन् । उनिहरुले बाल गृहलाई घर र ब्रहमकुमर दनुवारलाई परिवार मान्छन् । साराले बाल गृहका संरक्षक ब्रहमकुमरलाई देखाउँदै भनिन्, ‘अहिले हामी बुबासँग बस्छौ ।’ दनुवारलाई ‘बुबा’ भनेर उनीहरु सम्बोधन गर्दछन् ।
बाल गृहमा २०७२ सालको भुकम्पमा आमाबुबा गुमाएका र विभिन्न विपतीका कारण बिच्चलीमा परेका बालबालिकालाई राखिएको छ । आमाबुबा गुमाएका र बिच्चलीमा परेका बालबालिकाको पीडा हेर्न नसकेर २ कठ्ठा २ धुरी उब्जाउ हुने खेत बेचेर बालगृह स्थापना गरेको उहाँले बताउनुभयो । ‘बालबालिकाको पालन पोषण गर्न समस्या भएपछि पुनः १ कठ्ठा १९ धुर खेतबारी बेचे । अव खेतबारी, घर घडेर जे भने पनि १ कठ्ठा छ,’ दनुवारले भन्नुभयो, ‘हारगुहार गरेर जेनतेन आजसम्म बालबालिकाको पालन पोषण गरि रहेको छु ।’
उहाँले बालबालिकाको स्याहार सुसार, सरसफाई, खाना बनाउने, खुवाउने, विद्यालय पुर्याउने लगायतका काम आफैँले गर्ने गरेको छिमेकीहरुले सुनाए । दुधौली नगरपालिकाको दश लाख सहयोगमा आवासको लागि बालगृह निर्माण हुँदैछ । हाल बस्दै आएको बालगृह वास स्थानको लागि सहज नभएकाले अर्को भवन बनाउनु परेको दनुवारले बताउनुभयो । नयाँ भवन निर्माणका लागि पनि आर्थिक समस्या भएका उहाँले बताउनुभयो । बालबालिकालाई खान, बस्न, औषधि उपचार, लत्ताकपडा र शैक्षिक सामग्री जुटाउन उनलाई धौँधौ छ । कसै–कसैले दनुवारको कामबाट प्रभावित भएर बालबालिकाको पालन पोषणका लागी धेरथोर सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
दनुवारले सो इच्छाले साहारा विहिन बालबालिकाको लागि स्थापना गरेको बालगृह आफ्नो एक्लो प्रयासले मात्र सहज नभएको उहाँको भनाईबाट पुष्टि हुन्छ । सम्बन्धित सरोकारवालाहरुले सहयोग गरे आफ्नो प्रयास सार्थक हुने र बालबालिकाको भविष्य उज्वल हुने उहाँको भनाई छ ।