सिन्धुलीका स्थानिय तहमा दर्जनौँ भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको छ । जिल्लामा निर्माण हुने सबै प्रकारका संरचना अपांगमैत्री छैनन् । अधिकांश संरचना अपांगमैत्री नभएको गुनासो छ । जिल्लामा निर्माण भएका सरकारी तथा निजी भौतिक संरचनाहरू अपांगमैत्री नभएका कारण अशक्त तथा अपांगहरूले सहजरूपमा सेवा लिन सकेका छैनन् । भौतिक अवरोध, सामाजिक धारणा, सरकारी नीति र पहुँचको सिमांकनका कारण जिल्लामा अपांगमैत्री वातावारण सिर्जना हुन नसकेको देखिन्छ । तसर्थ, जिल्लामा अब निर्माण हुने सबै संरचनाहरू अपांगमैत्री हुनुपर्नेमा सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन ०७४ ले निर्दिष्ट गरे अनुरूप सबै खाले भौतिक संरचनाहरू अपांगमैत्री हुनुपर्ने भएता पनि जिल्लामा भने कतिपय संरचनाहरू सोही अनुरूप निर्माण हुन सकेका छैनन् । त्यसैले, सरोकारवाल निकायले अब बन्ने भौतिक संरचनाहरु अपांगमैत्रि हुनुपर्नेमा जोड दिन आवश्यक छ । जिल्लामा निर्माण हुने भौतिक संरचनाहरूमा ह्विलचियर प्रवेशद्वार, सडकपेटी पहुँचयुक्त, सार्वजनिक शौचालय, बसपार्क लगायतका ठाउँहरू अपांगमैत्री निर्माण गर्न अत्यावश्यक छ ।
सिन्धुलीमा मात्र नभएर देशभर हाम्रा भौतिक पूर्वाधारहरू अपांगमैत्री छैनन् । अपांग भएपछि पनि समान रुपमा बाँच्न पाउन हक हरेक मानिसको हुन्छ । तर, अपांगमैत्रि वातवारण निर्माण नहुँदा अपांगता भएकाहरुलाई समस्या परेको छ । तसर्थ, पदमार्ग, सडक, सवारीसाधन, शिक्षण संस्था र स्वास्थ्य संस्था अनि अन्य सार्वजनिक सेवाका संस्थाहरूमा शारीरिक अपांगता भएका व्यक्तिहरूको पहुँच पुर्याउनु जरुरी छ । अतः जिल्लामा अपांगमैत्रि संरचना निर्माण गर्न सबै निकायको ध्यान जान आवश्यक छ ।