नीजि भन्दा के कम : सिन्धुलीको कमलामाई नगरपालिका–११ स्थित प्रभात माविमा एकै ड्रेसमा सजिएर पढन आएका विद्यार्थी ।
सिन्धुली,१४ चैत्र – विद्यालयको वरिपरी तारबार सहितको गेट छ । ठिक दश बज्दा विद्यार्थी र शिक्षक सबै गेट भित्र प्रबेश गरि सक्नु पर्ने हुन्छ । विद्यालय समयभरी विद्यालयको नियम विपरित गेट बारिह निस्कन विद्यार्थीलाई रोक लगाइएको छ । यहि अवस्था देख्न सकिन्छ, तीनपाटन गाँउपालिका –५ स्थित मावि मझुवा दोभानमा ।
स्थानीय तहमा जनप्रतिनिधि निर्बाचित भएर आएसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आफुहरु लागि परेको उक्त विद्यालयमा कार्यरत शिक्षकहरुको भनाई छ । पछिल्लो समयमा स्थानीय सरकार गठनसँगै जनप्रतिनिधिहरुले दिने निर्देशन र लगनशिलताले नै सिन्धुली जिल्लामा सामुदायिक विद्यालयको शिक्षामा सुधार आउन थालेको पाईन्छ ।
“हामीले शिक्षा क्षेत्र सुधारका लागि नीति नै बनाएर अगाडी बढेका छौ,” उक्त विद्यालयका प्रधानध्यापक रघुनाथ बास्तोलाले भन्नुभयो, “विद्यालय वरपर दरिलो कम्पाउड बनेको छ, समयमा निस्कने र समयमा बाहिरिने बाहेक अन्य समयमा गेट बाहिर भित्र विद्यार्थीले गर्दैनन् ।” उहाँले २०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा अग्रेजी शिक्षामा विद्यार्थी आकर्षण भएकाले १ देखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने लक्ष्य राखेको बताउनुभयो ।
“हामी विद्यालयलाई बोर्डिङकै शैलीमा सञ्चालन गर्दै लगेका छाँै,– उहाँले भन्नुभयो, “विद्यालयमा न्युनतम शुल्कमा अतिरिक्त कक्षा समेत सञ्चालन गरेका छौ ।” सामुदायिक विद्यालयको शिक्षा खस्कदै गइरहेको समयमा उक्त विद्यालयले शिक्षालाई गुणस्तरिय बनाउका लागि पहल सुरु गरेको उहाँको भनाई छ ।
पछिल्लो समय नीजि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएपछि सामुदायिक विद्यालयहरुले पनि शिक्षा सुधारका योजनाहरु लागु गर्न थालेका छन् । विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउन विभिन्न योजनाहरु बनाएर कार्यन्वयन गर्न थालेको स्थानिय तहका जनप्रतिनिधि बताउछन् ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्ण थापा पनि उक्त गाँउपालिकामा ११ वटा वडा रहेका र प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउने गाँउपालिकाको अभियान रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुन विद्यालयलाई नमूना बनाउने हो, वडालाई नै छनौट गर्नु भनेका छौं । त्यो विद्यालयलाई नमूनाका रुमा सञ्चालन गर्न के के चाहिन्छ । सबै सहयोग गाँउपालिकाले गर्ने र त्यसलाई आसपासका अरु विद्यालयले हेरेर सिकुन् भन्ने उद्देश्य हो ।”
उक्त गाँउपालिकामा ८८ वटा सामुदायिक विद्यालय रहेको र सबै विद्यालयलाई नमूना वनाउन लगानी संभव नभएकोले उक्त अभिायन चलाएको उहाँको भनाई छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारर्न भौतिक संरचना व्यवस्थित गर्ने, शिक्षकलाई जिम्मेवारी बनाउने, प्राथमिक तहका विद्यार्थीलाई शनिबार पनि दुई घण्टा पढाउने, तल्लो तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने र बेला बेलामा अभिभावक भेला गरी अन्तरक्रिया गर्ने जस्ता कार्य हुदै आएको गाँउपालिका अध्यक्ष थापाले सुनाउनुभयो ।
यस्तै कमलामाई नगरपालिका– १३ मा रहेको प्रभात माध्यमिक विद्यालय रानीबासले जिल्लाकै नमुनाको विद्यालयका रुपमा परिचय बनाउदै गएको छ । विद्यालयले कक्षा १ देखि कक्षा ५सम्म ९ वटा विषय अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङ बताउनुहुन्छ । अभिभावकहरुले नीजि विद्यालयको भन्दा गुणस्तरिय शिक्षा निःशुल्क पाएपछि आफ्ना बालबालिकालाइ सामुदायिकमा विद्यालयमा ल्याएको विद्यालयले जनाएको छ । जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको सङख्या घट्दै गइरहेको बेला उक्त विद्यालयमा भने विद्यार्थीको चाप बढ्दो छ ।
विद्यालय समयमा कार्यरत शिक्षकहरुलाइ समेत कोड नम्बरबाट बोलाइने गरिएको छ । कोड नम्बर दिनैपिच्छे फेरबदल हुन्छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन वडा कार्यालयले निःशुल्क ड्रेस तथा बाल विकास कक्षाका लागि खेलौना सहयोग गरेको प्रधानाध्यापक थिङको भनाई छ ।
नीजि विद्यालयलाइ विस्थापित गरि सबै बालबालिकालाइ सामुदायिक विद्यालयमा अध्यापन गराउने लक्ष रहेको उक्त वडाका अध्यक्ष किरण माझीले बताउनुभयो । “स्थानीय तहबाट शिक्षकको समेत व्यवस्था गरेका छौं,’ उहाँले थप्नुभयो, ‘शिक्षामा सबैको पहु“च र समानताका लागि लागि परेका छौं ।”
विद्यालयको बाताबरण पनि छात्रा मैत्री छ । विद्यालयमै सेनेटरी प्याड बनाएर छात्राहरुलाइ निःशुल्क बितरण गरिन्छ । विद्यालयका प्रधानाध्यापक थिङका अनुसार १० कक्षामा अध्ययनरत छात्राले ९ कक्षाकालाइ प्याड बनाउन सिकाउने गरेका छन् । त्यो क्रम प्रत्येक वर्ष चलिरहन्छ । प्याड बनाउन चाहिने सामाग्री भने विद्यालये जुटाइदिने गरेको छ ।