सिन्धुलीका विभिन्न सामुदायिक वनहरुमा लागेको डढेलो पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । बिहिबार एकै दिन ४७ जिल्लाका ४ समय ७९ स्थानमा डढेलेको लागेको छ । सिन्धुलीमा डढेलो नियन्त्रणकालागि सामुदायिक वनले विभिन्न तरिकाहरु अपनाएका छन् । स्थानिय सरकारले पनि वनको कदममा सहकार्य गरिरहेको छ । तर, पुर्ण रुपमा डढेलो नियन्त्रणमा आइनसकेकोले जोखिम कम भएको छैन । मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । डढेलो लाग्ने मुख्य सिजन आउन बाँकी रहदा धेरै क्षति भइसकेको छ । मानविय क्षति नभएपनि वन्यजन्तुलाई क्षति पुगेको छ । त्यसैगरि, वन आसपासका क्षेत्रमा जोखिम बढेको छ । नेपालमा ६४ प्रतिशत डढेलो नियतवश र ३२ प्रतिशत असावधानीवश लाग्छ । ४ प्रतिशत डढेलोको कारण भने थाहा हुन सकेको छैन । डढेलो लाग्नुको कारण जे जस्तो भएपनि तत्काल डढेलो नियन्त्रणकालागि स्थानिय सरकार, सामुदायिक वन लगायत सरोकारवाला निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।
फागुनदेखि वैशाखसम्म गर्मी, सुक्खापन र हावाहुरीका कारण पनि डढेलोले ठूलो आकार लिने गरेको छ । त्यसैले, आगामी दिनमा ठूलो क्षति हुन नदिन जिम्मेवार निकाय जनशक्ति परिचालन र प्रविधिको प्रयोगगर्नतर्फ विशेष जोड दिन जरुरी छ । जनचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि जनशक्ति तयार पार्न र प्रविधिको विकास गर्न स्थानिय सरकारले विशेष पहल गर्न आवश्यक छ । सामान्यतया नयाँ पालुवा र घाँसको लोभमा गोठालो गएका व्यक्ति वा जंगल जानेले डढेलो लगाउने गरेको पाइन्छ । यो समस्या हल गर्न सामुदायिक वनले थप सतर्कता अपनाउन जरुरी छ । अतः अहिले भने स्थानिय सरकार लगायत जिम्मेवार निकायले डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न जरुरी छ ।