कमलामाई नगरपालिका–८ स्थित कमलामाई सामुदायिक वनमा उपभोक्ताहरु झ्याडी सफाई गर्दै ।
सिन्धुली,१३ चैत्र – सिन्धुली जिल्लाको विभिन्न भागमा रहेका सामुदायिक वनहरु बिगत केही दिनदेखि व्यापक डढेलोको चपेटामा परेको छ ।
गर्मी र हावाहुरीको मौसमसँगै केहि दिनदेखि सदरमुकाम सिन्धुलीमाढी वरपरका सामुदायिक वनमा लागेको डढेलो अझै निभेको छैन । जिल्लाको कमलामाई नगरपालिका भित्रका सहित कमलाखुँज र मरिण क्षेत्रमा रहेका सामुदायिक वन सहित, चुरे जंगल समेत डढेलोको चपेटामा परेको स्थानीयले जनाएका छन् ।
कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केहि दिनदेखि लागेको डडेलो अझै ननिभेको कमलामाई नगरपालिका–८ स्थित कमलामाई सामुदायिक वनका अध्यक्ष तथा बाग्मती प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले सुनाउनुभयो ।
उहाँले डढेलोबाट जोगाउन कमलामाई सामुदायिक वनले भर्खरै झ्याडी सरसफाई र अग्नी नियन्त्रण रेखा बनाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तराईको जिल्ला धनुषा र महोत्तरीसँग सिमाना जोडिएको चुरेबाट डढेलो सल्किदै आएको र स्थानीय घाँसी गोठालाले समेत नयाँ घाँस पलाउने आसमा लुकेर डढेलो लाउने गरेको पाईन्छ ।
वनहरुमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुनुका साथै नजिक रहेका घरगोठ तथा बस्तीहरु समेत जोखिममा परेको कमलामाई नगरपालिका–४ स्थित च्याउकोट सामुदायिक वन समितिका उपभोक्ता बिरबहादुर भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वनमा डढेलो लागेको दुई दिनभयो, निभाउन सकिएको छैन ।”
यता सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ पनि विगत केही दिनदेखि वनका लागेको डढेलोको धुवाले बायुमण्डलमा तुवालो बसेर ढाकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगो निभाउदै हिडेका पनि छौ । कता कता डढेलो लागेको छ भनेर उपभोक्तासँगै गस्ति गरेर सिमानामा घुम्ने गरेका छौं ।” डढेलो कुन कुन सामुदायिक वनमा लागेको छ भनेर आफुले जानकारी लिन सुरु गरेको र केही दिनपछि मात्रै क्षेतीको विवरण थाहा हुने उहाँको भनाई छ ।
उहाँले सदुमुकाम आसपासका सामुदायिक वनमा व्यापक डढेलो लाग्दै गएको सुनाउनुभयो । उहाँका अनुसार घाँसको लोभमा गोठाला तथा घा“सीहरुले आगो सल्काइदिने भएकाले स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा वस्ती नै आगलागि भएमा मात्र कोकोहोलो हुने गरेको छ ।
डढेलोका कारण वन क्षेत्रका साना बिरुवाहरु सखाप भएका छन् भने बहुमुल्य जडिबुटी समेत नष्ट भएको स्थानीय बासिन्दा बताउछन् । साँझ परेपछि विभिन्न जंगलमा बाक्लै रुपमा डढेलो लागेको देखिने गरेको छ । वन क्षेत्रमा लोगको डढेलोको धुवाले बायुमण्डललाई हुस्सु झै ढाकेर सडकमा हिड्ने बटुवाको आँखा पोल्ने गरेको कमलामाई नगरपालिका–४ निवासी पूर्णबहादुर मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “डढेलोले बाताबरण नै प्रदुषण गराई मानिसको स्वास्थ्यमा नै असर पु¥याई रहेको छ । तर त्यसरी डढेलो लाउनेलाई सम्बन्धित निकायले पहिचान गरेर कारबाही प्रकृयाअघि नबढाउदा उक्त कार्यले झन प्रोत्साहन पाई रहेको छ ।”
उपभोक्ताहरुमा चेतनाको कमीले गर्दा आगलागी घट्ना भई रहेको सामुदायिक वन उपभोक्ता महासङघका अध्यक्ष श्रेष्ठको भनाई छ । ‘कतिपय सामुदायिक वन समूहका पदाधिकारीहरुलाइ त फोन गरेर आगो निभाउन भनेको छु,‘ उहाँले भन्नुभयो, ‘कतिपयले नियन्त्रणको प्रयास गरेका छन्, कतिपय वास्तै गर्दैनन् ।’
डढेलोले संरक्षित साल तथा अन्यजातका रुखहरु, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाइ प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत एवं. सूचना अधिकारी संघर्षसक्षम मिश्रले भन्नुभयो, ‘वनमा लागेको डढेलो निभाउने प्रयास जारी राखेपनि नियन्त्रणमा आई सकेको छैन । विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न कार्यालयसँग जनशक्तिको पनि कमी रहेको छ ।’
कार्यालयका अनुसार उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरि उपभोक्तालाई हस्तान्तरण भई सकेको छ । हस्तान्तरण भई सकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलब ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलब ४२ हेक्टर क्षेत्रफल ओगटेको छ । हस्तान्तरित सामुदायिक वनबाट ५४ हजार ३६३ घरपरिवारका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।