सिन्धुली,१२ चैत्र – सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ नाकाझोलीमा झण्डै १० बर्षअघि निर्माण गरिएको सेलारस्टोर अझै प्रयोगमा आउन सकेको छैन ।
सिजनमा फलेको जुनारलाई भण्डारण गरी गर्मी मौसम (बेमौसम)मा पनि उपभोक्ता माझ पु¥याउने उद्देश्यले उक्त सेलार स्टोर (शुन्यशक्ति शितभण्डार) निर्माण गरिएको स्थानीय किसानले बताएका छन् । सिजनमा नै जुनारले राम्रो मूल्य पाउनु र शेलारस्टोरमा राख्न प्राविधिक समस्या रहेकाले उक्त शेलारस्टोर प्रयोगमा नआएको सञ्चालक तथा स्थानीय जुनार किसान शेरबहादुर मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिजनमै जुनार बगैंचाबाटै प्रतिकेजी ६० रुपैयामा बिक्री हुन थालेको छ । २०६८ सालतिर नेपालमै अहिलेसम्मको उच्चस्तरिय प्रविधिको २४ मेट्रिक्टन क्षेमताको उक्त शेलार स्टोर निर्माण भएको हो । त्यस क्षेत्रमा उत्पादित जुनारलाई भण्डारण तथा व्यवस्थापनका लागि सार्क डेभलपमेण्ट फण्ड र नेप्लीज फार्मिङ ईन्स्टीच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा करिब ६० लाख रुपैयाँको लागतमा उक्त शेलार स्टोर निर्माण भएको थियो ।
“निर्माण पुरा भएपछि २०७० सालतिर एक साल जुनार भण्डारण गरि राख्यौ”, उहाँले भन्नुभयो, “भण्डारण गरि राखेको जुनार मध्ये प्राविधिक ज्ञानको कमिले १० प्रतिशत जति कुहियो । त्यसपछि जुनारले सिजनमा नै राम्रो मूल्य पाउन थालेपछि भण्डारण गर्न किसानले नै चासो दिन छाडे ।”
सेलार स्टोरमा जुनार भण्डारण गरी राख्दा तीन महिलासम्म बस्ने र गर्मी मौसममा बिक्री गर्दा बढी मूल्य लिन आसले उक्त सेलार स्टोर बनाईएको उहाँको भनाई छ । पछिल्लो समयमा अधिकांस गाँउको जुनार बगैचासम्म कच्चि सडक भएपनि पुगेकाले ढूवानी सुविधा भई सिजनमा नै जुनारले राम्रौ मूल्य पाउन थालेको स्थानीय किसानको अनुभव पाईन्छ ।
जुनार विकास संघका अनुसार शेलार स्टोर निर्माणका लागि नाकाझोली जुनार उत्पादन कृषि सहकारी संस्थाले जग्गा व्यवस्थापन गरेको छ । नाकाझोलीमा सहकारीको माध्यमबाट जुना खेतीको विकास थालिएपछि उत्पादित जुनारलाई भण्डारण तथा वेमौसमका लागि सुरक्षित राख्न सहयोग पुग्ने विश्वासले सो भवन निर्माण गरिएको हो ।
सहयोगी निकाय सार्क डेभलपमेण्ट फण्ड, नेप्लीज फार्मिङ ईन्स्टीच्युट र नाकाजोली सहकारी संस्था बीच सम्झौता भई उक्त भवन निर्माण गरिएको सङ्घका निबर्तमान उपाध्यक्ष कृष्णप्रसाद गौतमाले जानकारी दिनुभयो । “जुनार विकास संघ र जुनार केन्द्रीय सहकारी संस्थाको प्रयासमा दातृ निकायको सहयोगमा जुनार वंगैचामा नै शितभण्डार निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “यो नेपालमै अहिलेसम्मको एक मात्र उच्चस्तरीय प्रविधिको भवन हो ।”
हावा र पानीको भरमा सञ्चालन हुने यो सितभण्डारमा ईलेक्टोनिक्स पावरको आवश्यक्ता नपर्ने निबर्तमान् उपाध्यक्ष गौतमले बताउनुभयो । उहाँले अगाडी थप्नुभयो, “मित्र राष्ट्र जापानको सहयोग निरन्तर छ । अहिले जिल्लाका महाभारत क्षेत्रका विपन्न परिवारको आयआजर्नको मुख्य श्रोतको रुपमा रहेको जुनार खेतीको विस्तार तथा व्यवसायिकरणका लागि सार्क राष्ट्रहरुको पनि सहयोग बढ्दै गएको छ ।”
उहाँका अनुसार उक्त शितभण्डारको निर्माणपछि उक्त पालिकाकै वरपर रहेका बाशेश्वर, तिनकन्या र रतनचुरा क्षेत्रमा तीन सय घरपरिवार जुनार किसानलाई सुविधा दिने उद्देश्यले सेलार स्टोर निर्माण गरिएको थियो । उक्त सेलारस्टोर निर्माण सुरु गर्दासम्म गाउँमा शितभण्डारको अभावले बंगैचाबाट टिप्ने वित्तिकै सदरमुकाम तथा अन्य बजारहरुमा विक्रीका लागि लैजानु पर्ने समस्या थियो । तर अहिले निर्माण भएका ग्रामीण सडकले पनि त्यस्तो समस्या टरेको छ ।
स्थानीय किसानका अनुसार असोज महिनाको मंसिर महिनाको सुरुदेखि जुनार बगैंचाबाट टिप्न थालिन्छ र माघ अन्तिम तीर बगैंचामा जुनार सकिन्छ ।
जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा यो बर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । यो बर्ष जिल्लामा जुनार उत्पादन आठ हजार मेट्रिक्टन भन्दा बढी भएको छ । क्षेत्रगत किरान नियन्त्रण अभियानका कारण जुनार खेतीमा किराको प्रकोप कम हुदै गएकाले जुनार उत्पादन पनि राम्रो भएको छ । जिल्लामा नौ वटा स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा लगायतका ठाँउ जुनार खेतिका लागि पकेट क्षेत्र रुपमा रहेका जुनार सुपर जोनले जनाएको छ ।