शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नख्खु जेलमा निलम्बित सांसद आफ्ताब आलमको दैनिकी

बुधवार , चैत्र ११, २०७७

काठमाडाैं, ११चैत - रौतहटमा नरसंहारका मुख्य अभियुक्त एवं नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

२०७६ कात्तिकमा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशबमोजिम उनलाई कारागारको छुट्टै कक्षमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले पनि उनलाई छुट्टै राखिएको हो ।

कारागार प्रशासनका अनुसार शुरू-शुरूमा आलमको रबैया निकै आक्रामक थियो । घमण्डी खालको व्यवहार देखाउँथे, तर आजभोलि भने उनी निकै शान्त भएका छन् ।

नख्खु कारागारका जेलर नरेन्द्र परियारका अनुसार आजभोलि आलमको दैनिकी धार्मिक पुस्तक पढेर बित्ने गर्छ । साथै उनले हरेक दिन मुस्लिम परम्पराअनुसार नमाज पनि पढ्ने गरेका छन् ।

‘उहाँ अहिले शान्त हुनुहुन्छ । उहाँको दैनिकी धार्मिक पुस्तकहरू पढेर बित्ने गरेको छ,’ जेलर परियारले लोकान्तरसँग भने, ‘बिहानै उठ्ने बित्तिकै नित्य कर्मसँगै पुस्तक पढ्नुहुन्छ ।’

आलमले अहिले भेट्न आउने कसैलाई पनि भेट्न नदिनू भनेका छन् । उनले भेटघाटको समय समेत घटाएको जेलर परियारले बताए ।

‘भेट्न आउने मानिसलाई निकै लामो समय कुराएर मात्रै भित्र बोलाउने गरेका छन्, कतिपय मानिसहरू त भेट नदिएर फर्किएका उदाहरण पनि छन्,’ जेलर परियारले भने ।

आलम रौतहटबाट पटक–पटक चुनाव जितेका नेता हुन् ।

केही समयअघि रौतहट पुगेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले आलमलाई छुटाउन प्रयास गरिरहेको बताएका थिए । देउवाको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

‘आलमजी अहिले जेलमा हुनुहुन्छ, म आफ्नो तर्फबाट छुटाउन लागिरहन्छु,’ सभापति देउवाले भनेका थिए, ‘तपाईंहरू धैर्य गर्नुस् । भोलि परिस्थिति बदलिन पनि सक्छ । धैर्य रहनुहोला, अदालतमा मुद्दा चलिरहेको छ ।’

आलममाथि बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको आरोप छ ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेष इद्रिसको गोठमा भएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर पोलेको आरोपमा आलमविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।

उक्त घटनाको १२ वर्षपछि प्रहरीले पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ गते इद्रिस गेटबाट प्रक्राउ गरिएको थियो । लोकान्तर बाट साभार ।

प्रतिक्रिया