सिन्धुलीमा अवैद्य रुपमा नदी उत्खननको कार्य भइरहेको छ । बालुवा प्रशोधनकालागी दर्ता भएका उद्योग मापदण्ड विपरित संचालनमा आइरहेको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएको बालुवा प्रशोधन उद्योगले नदी उत्खनन गर्नै नपाउने नियम भएपनि कानुन विपरित उद्योग संचालन हुदैँ आएको छ । जिल्लाको सुनकोशि गाउँपालिकामा क्रसर संचालनकालागि दुईवटा उद्योगलाई अनुमति दिईएको छ । तर, बालुवा प्रशोधन उद्योगले अवैद्य रुपमा नदी उत्खनन् गर्दा जोखिम बढिरहेको छ । नदीको ‘धार’ नै परिवर्तन हुने गरी भएको नदी उत्खनन्ले स्थानियवासीलाई त्रसित बनाएको छ । अवैद्य रुपमा संचालनमा आइरहेको उद्योगले स्थानियको घरजग्गानै बगाउने जोखिम बढ्दा समेत जिल्ला प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवाला निकाय मौन बस्दा कानुनी राज्यप्रति जनताको विश्वास गुम्दै गईरहेको छ । केहि समयअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत, नापी कार्यालयका प्रमुख तथा इन्जिनियरको सम्मिलित नियमित अनुगमन गर्न निर्देशन दिएपनि त्यो अनुसारको काम हुन सकेको छैन । विपी राजमार्ग छेउछाउ अवैद्य रुपमा संचालनमा आएका उद्योगहरु सहजै पहिचान गर्न सकिन्छ । तर पनि ती उद्योगमा नियमनकारी निकायको ध्यान जान नसक्नु दःुखद हो । तसर्थ, नदी दोहन गर्नेलाई कार्वाही गर्न जिम्मेवार निकायले अग्रसरता देखाउन जरुरी छ ।
सृष्टी एण्ड बालुवा प्रशोधन प्रा.लि. सुनकोशी गाउँपालिका–६ सिन्धुलीले बालुवा प्रशोधनको अनुमति लिएर क्रशर संचालन गर्दै आएको छ । यो उद्योगले नियम विपरित सीधै खोला तथा नदीमा उत्खनन् गरिरहेको छ । कानूनी रूपमा उद्योगले बालुवा खरिद, प्रशोधन तथा बिक्री गर्न मात्र पाउँछ । क्रसर उद्योगले जस्तो सिधै खोला तथा नदीमा उत्खनन् गर्ने अधिकार बालुवा प्रशोधन उद्योगलाई हुदैँन । तर बालुवा प्रशोधनका लागि भनेर दर्ता भएका त्यस्ता उद्योगले निरन्तर अवैद्य रुपमा बालुवा, ढुंगा र गिट्टी जथाभावी उत्खनन् गरिरहेका छन् । सृष्टी एण्ड बालुवा प्रशोधन त एउटा देखिएको उधारणमात्र मात्र हो । जिल्लामा यस्ता कयौँ उद्योगहरु नियमविपरित संचालनमा आएका छन् । तसर्थ, यस्ता उद्योगहरुको पहिचान गरि कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय चुक्नुहुदैँन । अतः गृह मन्त्रालयको निर्देशन पालना गर्दै जिल्ला प्रशासनले सिन्धुलीमा नियमविपरित संचालनमा आएका यस्ता उद्योगलाई कार्वाही गर्नतर्फ कञ्जुस्याईँ गर्नुहुदैँन ।