शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका स्थनिय तहमा विवाह कार्डमा उमेर अनिबार्य

सोमवार , चैत्र ९, २०७७

सिन्धुली,०९ चैत– सिन्धुली जिल्लामा स्थानीय सरकार बालबिवाह अन्त्य गर्ने अभियानमा जुटेका छन् । बि.सं. २०७८ सालसम्म गाउँपालिकाबाट बालविवाह उन्मूलन गर्ने ३ नम्बर प्रदेश सरकारको नीति अनुरुप सिन्धुली जिल्लाका ९ वटै स्थानीय तहका सरकार पनि उक्त अभियानमा जुटेका हुन् । गोलन्जोर गाउँपालिकाले बाल विबाह अन्त्यका लागि अहिले प्रत्येक वडामा वडास्तरिय बाल अधिकार समिति गठन गर्न सुरु गरेको छ ।

गाउँपालिकाका प्रबक्ता एवं वडा नं. २ का अध्यक्ष दौलत कार्कीले वडास्तरिय बाल अधिकार समितिले आफ्नो वडा भित्र बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको उहाँ बताउनुहुन्छ । पालिकाको कतिपय ठाँउमा सानै उमेरमा बालबालिकाको विवाह हुने र उनीहरु बाल अधिकारबाट समेत बञ्चित हुन थालेपछि उक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गोलञ्जोर गाउँपालिकामा बालविवाह अन्त्यका लागि उपाध्यक्ष गंगामाया श्रेष्ठको संयोजकत्वमा बालविवाह न्यूनीकरण समिति नै गठन भएको छ । सोही समितिमार्फत चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार गरिबी र अज्ञानताका कारण पनि कतिपय बालबिवाह हुने गरेको छ । दीर्घकालीन योजना बनाएर बालविवाह न्यूीनकरण गर्ने गाउँपालिकाको योजना छ । लक्षित वर्ग वा समुदायलाई प्रत्यक्ष सहभागी गराएर बालविवाह गर्नुको कारण पहिल्याउँदै त्यसको विकल्पसहितका कार्यक्रम ल्याउने गाउँपालिकाको भनाई छ ।

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले ‘मरिण भरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर बाल संरक्षण नीतिमार्फत बालविवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । गाउँपालिकाले बाल विवाह रोक्नकै लागि विवाहको निमन्त्रणा कार्डमा उमेर अनिवार्य उल्लेख गर्नुपर्ने नियम लागू गरेको पनि उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष बम्जनले भन्नुभयो, “बालविवाहलाई न्युनिकरण गर्न हरेक बस्तीमा चेतनामूलक नाटक र गोष्ठि जस्ता कार्यक्रम गर्दै आएका छौं । त्यसलाई नै बल पुग्ने गरी गाउँपालिकाले किसोर÷किसोरी र अभिभावक शिक्षा चलाउन लागेको छ ।”

कमलामाई नगरपालिकाका प्रशासकिय अधिकृत सागरकुमार ढकालले उमेरै नपुगी हुने बालविवाहको घट्ना समेत स्थानीय तहमा दर्ता नहुने बताउनुभयो । बालविवाहलाई कम गर्न स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम गरि रहेको जानकारी दिदै उहाँले भन्नुभयो, “विभिन्न गैरसरकारी संस्थाको समन्वयमा किशोरी सञ्जाल र बाल क्लबलाई सक्रिय बनाइएको छ ।” उता सुनकोसी गाउँपालिकाले पनि ‘सुनकोशी भरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर अभियान सञ्चालन गरेको छ । बालविवाह न्यूनिकरण अभियान अन्तर्गत हालसम्म १२ वटा विवाह रोक्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

बालबालिकालाई २० वर्ष अघि विवाह गर्न रोक्नका लागि बालबालिका र अभिभावकलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको गाउँपालिका अध्यक्ष दिपा बोहोराले बताउनुभयो । बालविवाह मानब विकास सुचकको हिसावले पनि हानीकारक रहेकोले त्यसले सामाजिक बिकृती, स्वास्थ्य, सम्बन्धित व्यक्तिको शारीरिक विकासलाई समेत असर पार्ने स्थानीय तहले जनाएको छ ।

बालविवाह सम्बन्धी अहिले भइरहेको परम्परागत सोचाइमा परिवर्तन ल्याउन चेतना अभिवृद्धिका लागि स्थानीय तहले जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । धार्मिक अगुवाहरूलाई समेत संगठित गरी बालविवाह विरुद्धको अभियानमा लाग्न प्रोत्साहन गरिएको छ । त्यो काम किशोरी सञ्जाल, महिला सञ्जाल र बाल क्लवमार्फत कार्य गरिरहेको छ । उक्त कार्यक्रम सञ्चालनका लागि भने छ लाख रुपैया विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया