सिन्धुली, – सिन्धुली जिल्लाको गोलेन्जोर गाँउपालिका–३ ग्वाल्टारमा आईतबार एक जना बृद्ध महिलामा औलो रोग देखा परेको छ ।
ज्वरो आई बिरामी भएर उपचारका लागि सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल आउनु भएकी ६५ बर्षिया ओमकुमारी श्रेष्ठमा औलो रोग देखा परेको उक्त अस्पतालले जनाएको छ । बिरामी महिला श्रेष्ठको रगत परिक्षणका क्रममा आईतबार औलो (मलेरिया) पुष्टि भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बिरामी महिलालाई अस्पतालमा भर्ना गरि उपचार गर्ने कार्य भई रहेको छ । स्वास्थ्य अवस्था समान्य हुदै गएको छ । मलेरियाको दबाई चलाई उपचार गरिएको छ ।”
पछिल्लो समयमा सिन्धुली जिल्लामा लामो समयपछि औलो रोग देखा परेको उक्त कार्यालयले जनाएको छ । त्यसो त सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्र र गड्तिर क्षेत्र औलो रोगका लागि उर्बर क्षेत्र रहेको छ ।
कमलाखुँज क्षेत्रको रानीबास, हत्पते, निपाने, टाँडी, हर्षाही, सिर्थौली, दुधौली र लदाभिर क्षेत्रमा केही बर्ष पहिले औलो रोग नियन्त्रणका लागि बर्सेनी बिषादी छिट्ने गरिए पनि पछिल्लो समय उक्त कार्य बन्द भएको स्थानीयले जनाएका छन् ।