शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यक : प्रचण्ड

बिहिवार , चैत्र ५, २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहिबार सिन्धुलीमाढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागि हुदै ।

सिन्धुली,०५ चैत्र – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यकता रहेको बताउनु भएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले, माओवादी र अरु कम्युनिष्टहरु पनि एकताबद्ध हुनु पर्छ भन्ने मिसनबाट हामी पछि हटेका छैनौं ।” “म फेरी पनि एमालेका साथिहरुलाई कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न अगाडी बढ्न अपिल गर्न चाहान्छु,” उहाँले भन्नुभयो, “मलाई विश्वास छ, माधब जी लगायत सबै ईमान्दार कम्युनिष्टहरु एमालेकाले फेरी एकता प्रकृयामा अघि बढ्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न मद्धत गर्नु हुने छ ।” अध्यक्ष प्रचण्डले केन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भई हाल्छ जस्तो आफुलाई नलागेको बताउनुभयो । “प्रधानमन्त्रीको नेतृत्व कस्को हुन्छ भन्ने बिषयमा राजनीतिक दलहरु बीच छलफल भई रहेको छ,” उहाँले भन्नुभयो, “त्यही छलफलबाट जस्कोमा सहमति हुन्छ, त्यही हुन्छ । सहमती त्यती टाढा छैन । तर मेरो र नेकपा माओवादी केन्द्रको प्रधानमन्त्रीमा दावी छैन ।” नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र नेपाली काँग्रेससँग छलफल भई रहेपनि निष्कर्षमा पुगि नसकेको सुनाउनुभयो । लोकतन्त्र र संविधानका बिरुद्ध अझै पनि चलखेल भई रहेको चर्चा गर्दै उहाँँले भन्नुभयो, “लोकतन्त्र, समावेशिता, समानुपातिकता र संविधान बिरुद्धको चलखेल रोकिएको छैन । संविधान र परिबर्तनलाई सिध्याएरै छाड्ने दुस्साहस पुरा हुदैन । हामी त्यसका बिरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार छौं ।” प्रचण्डले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभयो । आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गर्नुभएका अध्यक्ष प्रचण्डले वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिनुभयो । सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै उहाँले भन्नुभयो, “पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।” प्रधानमन्त्री ओलीलाई फटाहा भन्दै दाहालले भन्नुभयो, “केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन ।” २७ बर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले अनौपचारिक भ्रमणमा आफु सिन्धुली आएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले पार्टीभित्र विवाद तथा अन्तर संघर्ष चलि रहने र यो सामान्य कुरा भएको चर्चा गर्दै भन्नुभयो, “यो भई रहन्छ । जबसम्म पार्टी रहन्छन्, पार्टीभित्र विवाद, बहस हुन्छन् । यो दुनियाको नियम हो ।” नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको ठूलो भरोसा र आसा रहेको उहाँले सुनाउनुभयो । नेकपा माओवादी केन्द्र सिन्धुलीले विहिबार नै आयोजना गरेको कार्यकर्ता भेलालाई पनि अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु भएको छ । उहाँ पत्नि सिता दाहालसँग बुधबारसाँझ सिन्धुलीमाढी आई नेता हरिबोल गजुरेलको घरमा बस्नु भएको थियो ।  

प्रतिक्रिया