निर्माणधिन अवस्थामा रहेको आडगढी नागी चालिसे सडक खण्ड अन्र्तगत सुनकोसी गाँउपालिकाको वडा नम्बर ७ मा सडक छेउमा फुलेको गुरास ।
सिन्धुली,०२ चैत्र –यहाँको महाभारत क्षेत्रमा राताम्मै फुल्ने गुराँस लोप हुदै गएको छ । पछिल्लो समय पहाडी क्षेत्रमा जताततै सडक विस्तारले गुराँस हराउदै जान थालेपछि गुराँसको फुल लोप हुन थालेको हो ।
फागुनको दोस्रो साता सम्म ढकमक्क फुल्ने गुराँस सिन्धुलीका महाभारत क्षेत्रमा विरलै पाउन थालिएको छ । एक दशक अगाडीसम्म पहाडी क्षेत्रका महाभारतका जंगलमा राताम्मै फुल्ने गरेका गुराँस हाल फाट्टफुट्टमात्र देखिन थालेको छ । गुराँसको उचित संरक्षणको अभावमा मासिदै गएको छ । पहाडी क्षेत्रमा पछिल्लो समय सडक विस्तार गर्ने भन्दै पहाडका डाँडापाखा सबै फोरिन थालेपछि गुराँसको संरक्षण हुन सकेको छैन ।
पछिल्लो समय निर्माण भएका अधिकांश ग्रामिण सडक निर्माण गर्दा बन कार्यालयसँग लिनु पर्ने स्विकृति समेत नलिइ जथाभावी निर्माण गर्दा गुराँसका रुखनै तहशनहश भएपछि गुराँस फुल्ने बेलामा बोटकै अभाव हुन थालेको छ । विशेष गरि सिन्धुलीका गोलञ्जोर गाँउपालिका र सुनकोशी गाँउपालिकाको महाभारत क्षेत्रमा गुराँस धेरै हुने स्थानका रुपमा परिचित छन् । यसका अलवा घ्याङलेख गाँउपालिका, तिनपाटन गाँउपालिका फिक्कल गाँउपालिका लगायतका स्थानमा समेत गुराँस पाउने गरिन्छ । तर पछिल्लो समय जताततै भएको सडक विस्तार गुराँस मासिदै गएको छ । सडक निर्माण गर्दा गुराँसका रुखको जरै उखेलिने तथा सडक खन्दा निस्किएको बाटो ढुंगा जथाभावी फाल्दा त्यसले पहिरोमा परिणत हुने समस्याले गुराँस मौलाउन सकेको छैन ।
[caption id="attachment_108314" align="alignnone" width="960"]
सडक विस्तारले उजाडिदै गरेको पहाडका गुरास फुल्ने जंगल ।[/caption]
सुनकोशी गाँउपालिका ७ का नवराज गोलेले सडक निर्माण गर्दा नेपालको राष्ट्रिय फुल लाली गुराँसको संरक्षण गर्न नसक्नु दुःखद भएको बताउनु भयो । महाभारतका डाडै ढकमक हुने गुराँस सबै सडक निर्माणले गर्दा सखाप भयो, उहाँले भन्नु भयो, “सडक निर्माणसँगै गुराँसको संरक्षण नगर्ने हो भने अबका केहि बर्षमा गुराँसको फुल होइन बोट पनि देखिदैन ।” आढगढी नागी चालिसे सडक विस्तार गर्दा पनि गुराँसको संरक्षण हुन नसकेको उहाँको भनाई छ । “पहाडमा जताततै सडक विस्तार भएका छन्, तर यहाँको पहिचान गुराँसको संरक्षण भएको देखिदैन यसको संरक्षण हुन जरुरी छ”, उहाँले थप्नु भयो ।
उसो त सिन्धुलीगढी अवलोकन गर्न पुगेका काठमाडौँका भिम प्रधानले पनि गुराँसको बोट पनि विरलै देखिएको बताउनु भयो । “विपी राजमार्ग खुल्ने वित्तिकै एक पटक सिन्धुलीगढी आएको थिए, त्यतिबेला राताम्मै गुराँस फुलेको देखेर आनन्द महशुस भएको थियो, त्यहि सम्झेर आएको अहिले गुराँसको फुलै पाउन सकिन” उहाँले भन्नु भयो । उहाँले सडक विस्तार सँगै गुराँसमा रोग समेत आएको हुन सक्ने बताउनु भयो । “सडक विस्तारले गुराँसको क्षति भएको देखिन्छ, त्यसका अलवा बचेका रुखमा पनि नफुलेको देख्दा गुराँसमा कुनै रोग आयो की भन्ने लाग्छ”, उहाँले भन्नु भयो ।
गुराँसको फुल पात र बोक्रामा औषधिजन्य बस्तु पाइने भन्दै उहाँले लालि गुराँसको संरक्षण हुनुपर्ने बताउनु भयो । “गुराँसले बनजंगलको सौन्र्दयता मात्रै बढाएको छैन, यसमा विभिन्न रोगको औषधिय गुण पनि छ,” उहाँले भन्नु भयो “यस्को संरक्षण गर्नुपर्ने देखिन्छ ।”