काठमाडौँ, १ चैत - सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत देखाउँदै आएको छ । यस्तै खर्चलाई नियन्त्रण गर्न केन्द्र सरकारले प्रशासनिक खर्चको सीमा तोकिदिएर नमुना कानुन स्थानीय तहमा पठाएको सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।
सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले त्यसको लागि नमुना बनाएर सबै स्थानीय तहलाई पठाइसकेको छ । यसमा स्थानीय तहले गर्ने अतिथि सत्कार, बैठक भत्ता, सवारी साधनका लागि खर्च जस्ता शीर्षकको सीमा तोकिएको छ । नमुना कानुनको कार्यान्वयनका लागि गाउँपालिका/नगरपालिका कार्यसञ्चालन निर्देशिका २०७७ को नमुना निर्देशिका अनुसार अतिथि सत्कारमा नगर प्रमुखले २० हजारसम्म खर्च गर्न पाउनेछ भने उपप्रमुखले १५ हजारसम्म खर्च गर्न पाउनेछ । यस्तै गाउँपालिकाका अध्यक्षले १५ हजार, उपाध्यक्षले १० हजार, गाउँ/नगरपालिकाको कार्यालयले १० हजार , वडा अध्यक्ष तथा वडा कार्यालयले ५ हजार रुपैयाँसम्म अतिथि सत्कारका लागि मासिक रुपमा खर्च पाउँछन् ।रातोपाटीमा डट कममा उलिजा उप्रेतीले खवर लेखेको छिन ।
यस्तै प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयले सम्भव भएसम्म चार पाङ्ग्रे सवारी साधन उपलब्ध गराउनु पर्नेछ । सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारीलाई उसले प्रयोग गरेको सवारीको मर्मत खर्चका लागि कार र जिपका लागि बढीमा ५० हजार (वार्षिक) र चारपाङ्ग्रेको लागि बाढीमा १० हजार (वार्षिक) उपलब्ध गराइनेछ । सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राख्न पाइने छैन । विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृतलाई ७० लाखसम्मको सवारी साधन, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई ६० लाखसम्मको सवारी साधन, मोटरसाइकल वा स्कुटर २ सय सिसिसम्म दिइनेछ ।
कार्यालयले नयाँ सवारी साधन खरिदलाई निरुत्साहित गर्नुपर्नेछ । नयाँ सवारी साधन खरिद गर्नुपर्ने भए विद्युतीय तथा वातावरण मैत्री सवारी साधनमा जोड दिनुपर्नेछ । यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई मासिक १५ सय सञ्चार खर्च उपलब्ध गराइनेछ ।
गाउँपालिका र नगरपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाइ आर्थिक सुशासन कायम गर्न र उत्पादन मुलक क्षेत्रमा लगानी अभिबृद्धि गर्न स्थानीय तहहरूलाई कार्य सञ्चालन निर्देशिका जारी गर्न लागिएको सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनले स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीले पाउनुपर्ने सुविधाभन्दा बढी सुविधा लिने, विकास निर्माण गर्नुपर्ने खर्चले सवारी साधन खरिद गर्ने, स्वकीय सचिव, सल्लाहकार राखेर अनावश्यक रकम भुक्तानी गर्ने, कर्मचारीको पारिश्रमिकको मापदण्ड नबनाइ अनेक खालका भत्ता वितरण गर्ने जस्ता अनियमितता देखाएको थियो । अब आफ्नो आम्दानी अनुसारको खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । केन्द्रले पठाएको कानुनलाई स्थानीय तहले हुबहु पास गरेर लागु गर्न सक्नेछन् भने केही थपघट गरेर उनीहरुको सभाले पास गर्न सक्ने प्रवक्ता अधिकारी बताउँछन् ।
बैठक भत्ता एक हजार ५ सयसम्म
प्रमुख तथा उपप्रमुखको अध्यक्षतामा हुने बैठकको प्रति बैठक १ हजार ५ सयसम्म, अन्य पदाधिकारीको अध्यक्षतामा हुने बैठकको १ हजार २ सयसम्म पाउनेछ । एक व्यक्तिले दिनमा दुईवटा भन्दाबढी बैठकमा सामेल हुन पाउनेछैन । बैठकमा उपस्थित व्यक्तिले प्रति बैठक खाजा तथा पानीको खर्च २ सय ५० रुपैयाँ सम्म पाउनेछ ।
यस्तै अतिरिक्त समयमा काम गरेमा सार्वजनिक विदाको दिन छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ, कार्यालय खुलेको दिनमा बढी समय काम गरेमा प्रतिव्यक्ति ३ सयसम्म खाजा खर्च उपलब्ध हुने व्यवस्था सो निर्देशिकामा गरिएको छ । आठ घण्टासम्म लगातार बैठक बसेमा अतिरिक्त ५० प्रतिशत थप रकम पाउँनेछन् ।
भ्रमण खर्चमा मितव्ययिता अपनाउनुपर्ने
जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता प्रदेश कानुनले तोके बमोजिम हुनेछ । फिल्डमा खटिदा भ्रमण आदेश स्विकृत गराएर मात्र जानुपर्नेछ । सात दिनभन्दा बढी अवधिको लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्पष्ट कारण खोली आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई भ्रमण आदेश स्वीकृत गर्नु पर्नेछ । सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्नेछ । दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन
सचिवालयमा ३० हजारसम्म तिरेर सहयोगी राख्न पाइने
अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न बढीमा महानगरपालिकाको प्रमुखको लागि तीस हजारसम्म मासिक खर्च गर्न पाउँछ । उपमहानगरपालिका प्रमुखको लागि पच्चीस हजार नगरपालिका प्रमुखको लागि बीस हजार र गाउँपालिकाको लागि अठार हजार मासिक खर्च गर्न पाइने व्यवस्था छ ।
उप प्रमुख तथा उपाध्यक्षको लागि क्रमशः पच्चीस हजार, बीस हजार, अठार हजार र पन्ध्र हजार मासिक खर्च गर्न सकिने छ । उक्त रकम एकमुष्ट रकम उपलब्ध गराउने वा निजी सचिवालयको लागि कर्मचारी राख्ने मध्ये कुनै एक तरिकाबाट मात्र खर्च गर्न सकिनेछ ।
आज चैत्र ०१ गते आईतबारको राशिफल
वि.सं.२०७७ साल चैत्र ०१ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,२५ घडी १२ पला, बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तराभाद्रपदा,४८ घडी ४० पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रेवती । योग–शुभ,०२ घडी ५७ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त शुक्ल । करण–बव,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला । चैत्रसंक्रान्ति, चन्द्रोदय, ग्याल्पो लोसार, पञ्चक ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ । निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- नगद सहयोग गर्न बन्द गर्नुहोला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पति पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढ्न सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्ने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।