शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पाँच दिनमा आठ हजार बढीले कोरोना बिरुद्धको खोप लगाए

शनिवार , फाल्गुण २९, २०७७

कमलामाई नगरपालिका २ स्थित निबुवाटार स्वास्थ्य चौकीमा कोरोना बिरुद्धको खोप लगाउदै स्थानीय जेष्ठ नागरिक ।

सिन्धुली,२९फाल्गुण – सिन्धुली जिल्लामा कोरोना बिरुद्धको खोप अभियान अन्तर्गत पाँच दिनमा आठ हजार भन्दा बढी व्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका छन् । ६५ बर्ष माथीका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेकालाई खोप लगाउन फाल्गुन २३ गतेदेखि खोप अभियान सञ्चालन भएको छ । सुरुको पाँच दिनमा आठ हजार १७२ व्यक्तिले उक्त खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान चैत २ गतेसम्म सञ्चालन हुने छ । कार्यालयका अनुसार जिल्लामा रहेको ५५ वटा खोप केन्द्र (स्वास्थ्य चौकी) मार्फत ती व्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका हुन् । खोप लगाउनेमा तीन हजार ९२२ जना महिला र बाँकी पुरुष रहेका छन् । यि व्यक्तिलाई उक्त खोप लगाउदा ८७१ भाईल खोप खर्च भई सकेको छ । खोप अभियान सञ्चालन गर्न पछिल्लो पटक एक हजार ३३ भाईल खोप आएको र यस अघिको २३३ भाईल खोप मौज्दात रहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । अझै खोप अभियान जारी रहेकोले कति भाईल खर्च हुने भन्ने ठेगान नभएको उहाँको भनाई छ । उहाँका अनुसार सिन्धुली जिल्लामा पहिलो पटक १५० भायल र दोस्रो पटक तीन सय गरी ४५० भायल कोरोना बिरुद्धको खोप यसअघि ल्याइएको थियो । कमलामाई नगरपालिकामा एक हजार ८६१ जना, दुधौली नगरपालिकामा एक हजार ४६६ जना, सुनकोसी गाँउपालिकामा ४६८ जना, तीनपाटन गाँउपालिकामा एक हजार ५८४ जना, फिक्कल गाँउपालिकामा ७११ जना, गोलन्जोर गाँउपालिकामा ८५५ जना, हरिहरपुरगढी गाँउपालिकामा ४८९ जना, मरिण गाँउपालिकामा ५२३ जना र घ्याङलेख गाँउपालिकामा २०८ जनाले कोरोना बिरुद्धको खोप लगाएका कार्यालयका सूचना अधिकारी सुर्य घिमिरेले जानकारी दिनुभयो । पहिलो दिन एक हजार ३४६ जनाले, दोस्रो दिन दुई हजार ७० जनाले, तेस्रो दिन दुई हजार ७९ जनाले, चौथो दिन एक हजार ६५५ जनाले र पाँचौ दिन एक हजार २२ जनाले उक्त खोप लगाएको पनि उहाँले बताउनुभयो । यसअघि पहिलो र दोस्रो चरण गरी सदरमुकामस्थित सिन्धुली अस्पताल खोप केन्द्रमा दुई हजार १६९ जनाले उक्त खोप लगाएका थिए । पहिलो चरण माघ १४ गतेदेखि २१ गतेसम्म एक हजार ९९ जना स्वास्थ्यकर्मी र दोस्रो चरण फागुन ३ गतेदेखि १० गतेसम्ममा एक हजार ७० जनाले उक्त खोप लगाएका हुन् । यसअघि कोरोना बिरुद्धको खोप लगाउनेमा स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा वडा कार्यालयमा कार्यरत कर्मचारी, पत्रकार र कैदीबन्दि रहेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया