शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पशुपतिमा बाबाजिको यति मिठो गित (भिडियो)

बिहिवार , फाल्गुण २७, २०७७

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । पशुपतिमा साधुसन्तहरु भेला भई रमाइरहेका छन् । यतिकैमा हामीले एक बाबाको भिडियो खिचेका छौँ । उनी गित गाइरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । भिडियो तल छ

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । चार बजे नै खुले पशुपतिका चार ढोका: यसैबीच भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । भिडियो तल छ

शिव र शिवरात्री (विश्वनाथ खरेल): शिवरात्री विश्वभरका हिन्दु धर्मावलम्बीका लागि महान् दिन हो । ब्रह्मान्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनुभएको आजको दिनलाई शिवरात्री पर्वका रूपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम बसेर मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ । अजन्मा भएर पनि उहाँले प्राणीको हित साधना गर्न धरातलमा भोलेबाबाका रूपमा भक्तहरूलाई दर्शन दिनु हुन्छ । सबैको कल्याण गर्ने भगवान््् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेक रूपमा यस धर्तीमा प्रकट हुनुभएको छ । पशुरुपि हामी मानवका उहाँ पति अर्थात् मालिक हुनुहुन्छ, त्यसैले उहाँको नाम पशुपतिनाथ भयो । यस विश्वकै मालिक भएकाले उहाँ विश्वनाथ हुनुभयो । आप्mना भक्तले जे मागे पनि दिने भएकाले उहाँ भोलेनाथ हुनुभयो र पापी अन्यायी, अधर्मीलाई उनीहरूले गरेका कुकर्मको सजाय दिने भएकाले उहाँ उनीहरूका लागि काल, महाकाल र रुद्र बन्नुभएको छ । यसर्थ, श्रीपशुपतिनाथको ठूलो महिमा छ । श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे बेद, पुराण, धार्मिक साहित्यिक र तान्त्रिक ग्रन्थमा अति विस्तृत रूप पाइन्छ । हाम्रोे हिन्दु समाजमा पनि परापूर्वकालदेखि नै शिवजी पूजाआजा, उपासना गर्ने चलन आजसम्म कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दुहरूको बाहुल्य भएका क्षेत्रका शिवमन्दिर, शिवालय, शिवलिंगेश्वर, ज्योतिर्लिंगेश्वर आदि स्थानमा यस पर्वमा असंख्य भक्तजनको भीड लाग्ने गर्र्दछ ।

फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ । भारतलगायत विश्वका विभिन्न राष्ट्रबाट र स्वदेशमा साधु–सन्त, महन्थ, भक्तजन शिवरात्री पर्वमा पशुपतिनाथको पूजा–आराधना गर्दछन् । दर्शनार्थ प्रत्येक वर्ष असंख्य नरनारी काठमाडौं पशुपति क्षेत्रमा मेला हुने गर्दछन् । महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ । सन्तका लागि शिव र दुष्टका लागि महाकालका रूपमा रहनुभएका परमपिता परमेश्वर शिवको नाम स्मरण, आराधना, पूजा, महिमागानले व्यक्ति व्यक्तिले शिव, शिव मात्र भने पनि सम्पूर्ण समाजको भलाइ हुन्छ र जीवमध्ये सर्वश्रेष्ठ मानवजातिले आफ्नो मात्र होइन अन्य प्राणीको पनि भलाइ गर्न सक्दछ । मानवले सत्कर्म गरेमा सद्बुद्धि मिल्दछ र बृद्धिमतापूर्वक गरिएको कामबाट सम्पूर्ण समाजको भलाइ हुन्छ ।

वर्तमान विश्वमा मानिस भौतिक सुखको पछाडि आँखा चिम्लेर दौडदा अँध्यारो कुवामा खसेको पत्तै पाउँदैन । भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालयित भइरहेका छन । वास्तवमा भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टि मात्र दिन्छ, यो क्षणिक र नाशवान् छ । आध्यात्मिक ज्ञानको अभावमा मानिस पशुझैं भएका छन् । उनीहरू उचित र अनुचित छुट्याउन सक्तैनन् । यसर्थ समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ । आध्यात्मिक ज्ञानले परिपूर्ण मानव समाजमा अभाव र अशान्तिको स्थानै रहँदैन ।

भगवान् शिवको स्वरूपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषले उहाँको परिकल्पना गरेका छन् । हामी प्राणीसँग दुई ओटा चर्मचक्षु त छ तर, तेस्रो ज्ञानचक्षु छैन । ज्ञानचक्षुको अभावमा नै हामी यस नाशवान् संसारमा एक दिन नाश हुने शरीरका लागि सुखशयल, आरामको खोजीमा अनमोल जीवन गुमाउँछांै । यसमा कुनै सार्थकता छैन । शिवको तेस्रो नेत्रको आराधना गरेमा हामीलाई ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्दछ । हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम शान्ति हुन्छ । शिवले सबैलाई सद्बुद्धि दिनुहुन्छ र पनि मानिसले त्यसलाई प्रयोग गर्न नजानेर दुःखको जञ्जालमा फसिरहेका छन् । आजका युवा सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदै छन् । यो उनीहरूको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको दुव्र्यसनी बनेका छन् । लागूपदार्थले एक देशको मात्र होइन, विश्वका युवावर्गलाई आप्mनो दास बनाइसकेको छ र दिनानुदिन यो क्रम बढ्दो छ । युवावर्गलाई समुचित शिक्षा दिएर अभिभावकले सत्मार्ग देखाएर, भौतिकवाद र अध्यात्मवादबारेमा यथेष्ट ज्ञान गराएर कुलतबाट छुटकारा दिलाउन सकिन्छ । सही ज्ञानको अभावमा युवावर्ग पथभ्रष्ट भएका हुन् ।

प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री पर्व मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचीन कालदेखि नै भएको बुझिन्छ । हाम्रा आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौं । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेबाबा, महादेव, शम्भु, कैलाशपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई ‘पशुपति’को संज्ञाले बडो श्रद्धा गर्दछौं । सारा नेपाली चाहे हिन्दु होऊन् वा बौद्ध सबै पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधाना गर्दछौं ।

यस महान् पर्वमा नेपाली मात्र नभएर छिमेकी मुलुक भारतका असंख्य श्रद्धालु भक्तजनको घँुइचो लाग्दछ । ‘पशुपति क्षेत्र’ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरि चिनाउँछ । विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ । यसरी प्राचीन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान हुनुका साथै पशुपतिको चर्चा टाढा–टाढासम्म हिन्दुहरूको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी हिन्दु धर्मलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात् विसं १४०९ मार्गमा काठमाडौं उपत्यकाभित्र आक्रमण गरी विभिन्न हिन्दु र बौद्ध गुम्बा, मठ–मन्दिरका अतिरिक्त पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुप भत्काउने, बिगार्ने कार्यजस्ता निन्दनीय कार्यद्वारा प्रशस्त धन–सम्पति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाइ ध्वंसात्मक कार्य गरी हिन्दूधर्मको उपहास गरेका थिए ।

हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ । सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विषपान गर्नुभएको हो । समाजका अहितकारी वस्तुहरू जस्तो कि, सबै लागूपदार्थ हामी शिवलाई समर्पण गरौं । शिवले हामीलाई त्यसबाट रक्षा गर्नुहुन्छ । हिन्दुहरू नेपालमा मात्र होइन विश्वभरि छन् । त्यसैकारण महाशिवरात्रीको पर्वे नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमंग र भक्तिभावपूर्वक मनाइन्छ । यस दिन भोलेबाबाको शोडषोपचारको विधिले पूजा अर्चना गरिन्छ । आह्वान, आसन, पदय, अष्र्य, आचमन, स्नान, वस्त्र, उपवित, गन्धपुष्प, धूव दीप, नैवेद्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिणा आदि गरिन्छ ।

यस अवसरमा श्रद्धालुहरू उपवास बस्दछन् । ती उपवास बस्नेहरू र अन्य भक्तजन मन्दिर अधिल्तिर भजनकीर्तन गरी भगवान््मा लिहिन भएका हुन्छन् । त्यसै दिन टुँडिखेलमा नेपाल सरकारको उपस्थिति भई देशवासीको नाममा शुभेच्छा प्रकट गर्ने कार्यक्रम परम्परा अद्यावधिक नै कायम छ । समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठपदार्थ प्राणीलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा युवावर्गले सत्मार्गमा अग्रसर हुने प्रण गर्नु उनीहरूका लागि मात्र होइन समाज र देशका लागि नै हितकर हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गरून् । यसबाट नै सम्पूर्ण प्राणी मात्रको कल्याण हुने कुरामा कसैको पनि दुईमत नहोला ।

प्रतिक्रिया